खायन आलु उत्पादन प्रविधि


– प्रस्तुति– सत्यनारायण श्रेष्ठ
हावापानी ः
आलु चिसो हावापानी मनपराउने बाली हो । आलुवालीले केही मात्रामा तुषारो खप्न सक्दछ । बढी गर्मी समयमा आलुवाली त्यत्ति राम्रो हुँदैन र दाना पनि लाग्दैन ।
आलुखेतीको सम्भाव्यता ः
विश्वमा आलुको खेती समुद्र सतहदेखि १३,००० फीटको उचाईसम्म गर्न सकिने कुरा विभिन्न अनुसन्धानहरुबाट प्रमाणित भएको छ । तर नेपालमा यसको खेती तराईको समतल भूमि (१०० मीटर) देखि उच्च पहाडी भाग (४००० मीटर) सम्म गरिएको पाइन्छ । अरु अन्वालीहरुको तुलनामा आलुबाली बढी उचाई भएको ठाउँमा पनि गर्न सकिन्छ ।
तापक्रम ः
आलु उम्रनको लागि माटोको तापक्रम कम्तिमा ८ डिग्री सेन्टिगे्रड हुनुपर्दछ । आलुको बोट वृद्धि ३० डिग्री सेन्टिगे्रड भन्दा माथि पनि राम्रो हुन्छ, तर दाना लाग्ने प्रक्रिया कम हुन्छ । आलुको दाना लाग्न र बढ्नको लागि रातिको तापक्रम १५–२२ डिग्री सेन्टिगे्रड हुनु उपयुक्त छ ।
जग्गाको छनौट ः
आलु खेतीको लागि जग्गाको छनौट गर्दा निम्न कुराहरुमा ध्यान पु¥याउनु जरुरी छ ।
भू–धरातल ः
आलु खेतीको लागि समथर, पानीको राम्रो निकास हुने र बाटोबाट नजिकको ठाउँ छनौट गर्नुपर्छ । केही भिरालो जग्गा छ भने गह्राहरु बनाएर सम्याउन सकिन्छ । यसबाट भू–क्षयबाट रोकथाम हुनुको साथै सिंचाईको लागि पनि सुविधा हुन्छ ।
माटो ः
आलु खेतीको लागि प्रशस्त प्रांगारिक पदार्थयुक्त बलौटे दोमट माटो उत्तम हुन्छ । चिम्ट्याईलो माटोमा पानी जम्ने समस्या रहन्छ भने बलौटे माटोमा पानी चाँडै सुक्ने हुँदा धेरै सिंचाईको आवश्यकता पर्दछ । माटोको अम्लीयपना प्रति धेरै हदसम्म सहनशील भएपनि ५ देखि ६.५ पि.एच. आलु खेतीको लागि उपयुक्त मानिन्छ ।
वाली चक्र ः
नेपालको अवस्थामा हरेक वर्ष आलु खेती एउटै जमीनमा लगाउने चलन बढी मात्रामा पाइन्छ । त्यसैले कृषकको खेतमा आलुबालीमा रोग, किरा र झारपातले बढी दुःख दिएको पाइन्छ । आलु बालीलाई रोग, किरा र झारपातहरुबाट बचाउन र माटोको उत्पादनशक्ति घट्न नदिन एउटै खेतमा लगातार हरेक वर्ष आलु खेती गर्नु हुँदैन । त्यसैले सकभर २–३ वर्ष विराएर मात्रै उक्त जमीनमा आलु खेती गर्नु उपयुक्त हुन्छ । यदि एउटै जमीनमा लगातार आलुवाली वा आलुको परिकारका अन्य वालीहरु जस्तै गोलभेडा, भण्टा, खुर्सानीको खेती गरिरहेमा खतरनाक रोगहरु माटोमा प्रवेश गरी १५–२० वर्षसम्म पनि उक्त जमिनमा आलुखेती गर्न नमिल्न सक्छ । त्यसैले बाली चक्र अपनाउँदा खेतरबारीमा रोग, किरा र झारपातले सताउँदैन । आलुबालीमा निम्नअनुसार बाली चक्र अपनाउन सकिन्छ । जस्तै ः आलु र मकै – गहुँ आलु – खाली – आलु ÷ आलु – गहुँ– जौ – आलु ÷ धान – आलु – मकै, मकै – आलु – गहुँ ÷ धान – आलु – खाली जग्गा, मकै – आलु – खाली जग्गा ।
आलुका जातहरु ः
हावापानीको हिसाबले नेपालको तराईदेखि उच्च पहाडि भेगसम्म लगाइने आलुका जातहरु फरक फरक हुन सक्छन् । सोही अनुसार नेपालको विभिन्न ठाउँमा विभिन्न ऋतुहरुमा आलु खेती गरिन्छ । हालसम्म नेपालमा उन्मोचित ६ जातहरु (कुफ्री ज्योति, डेजिरे, कुफ्री सिन्दुरी, जनकदेव, खुमल सेतो–१, खुमल रातो –२) सहित जम्मा १९ आलुका जातहरु खेतीको लागि सिफरिस गरिएका छन् ।
बीउ आलुको छनौट ः
राम्रो उत्पादन लिनका लागि स्वस्थ बीउको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ । खायन आलु खेतीको लागि बीउ आलुको छनौट गर्दा विभिन्न कुराहरुमा ध्यान पु¥याउनु पर्दछ । जस्तै उपयुक्त जातको छनौट, बजारको माग, बजारमा बीउको उपलब्धता र त्यसको मूलय तथा स्थानीय हावापानीसँगको अनुकूलतामा बढी ध्यान पु¥याउनु पर्दछ । बीउ आलु सकेसम्म भरपर्दो र श्रोतबाट खरीद गर्नु पर्दछ । जातीय मिश्रण भएको, रोगव्याधिग्रस्त र कमसल बीउ पर्न गएमा त्यसबाट धेरै पुस्तासम्म माटो र बीउको माध्यमबाट उत्पादनमा प्रतिकूल असर पार्न सकिन्छ । त्यसैले बीउ आलु, स्वस्थ, शुद्ध नकाटिएको, नकुहिएको तथा छोटो, मोटो र जात अनुसारको रंगीन टुसाहरु भएको हुनुपर्दछ । बीउ आलुको दाना छान्दा त्यसको साइजलाई पनि ध्यान दिनु पर्दछ । मझौला खालको २५–५० ग्राम तौल भएको आलु सिङ्गै रोप्नु पर्दछ । ठूलो साईजको आलुको हकमा हरेक टुक्रा आलुमा कमसेकम दुई आँखा हुने गरी काटेर रोप्नु पर्दछ, जस अनुसार ६० देखि ८० ग्राम तौल साइजको दाना दुई टुक्रा, ८० देखि १०० ग्राम साईजको दाना तीन टुक्रा र १०० ग्राम भन्दा ठूलो दानालार्य चार टुक्रा पारेर रोप्न सकिन्छ ।

Post a Comment

0 Comments