माघ मेलाको समापन आज व्रतालुहरु घर फिर्ता



लावण्य/साँखु । साँखुको शालिनदी तीरमा बसेर माधवनारायणको व्रत बस्ने व्रतालुहरु आजबाट घर फिर्ता हुने भएको छ ।

आज बिहानै व्रतालुहरु सबै ज्योतिर्लिङ्गेश्वर परिसर पुगेर बिहानको नित्य स्नान कजी, साँवागणसँगै गर्दछन् त्यसपछि माध गाउँदै देवी देवताहरुको पूजा आजा गर्दै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा पछि अजिमा (अजिद्यः) स्थानसम्म पुग्दछन् ।

त्यसपछि आफू साँखुको जुन टोलमा बसेको हो त्यो टोलको गणेश पूजा पछि शालिनदीमा व्रत वस्दा आफूले उपभोग गरेको मिगाःमा पूजा गरिसकेपछि व्रत समाप्त भएको मानिन्छ ।

पौष २१ गते साँखुको ब्रम्हपुर (बलंपुली) बाट सुरु गरिएको व्रत आज गणेश पूजा र मिगाः पूजा गरेसँगे समाप्त भएको मानिन्छ । आजैदेखि शिवरात्रिसम्म व्रतालुहरुले आफूले व्रत लिँदाको प्रसाद आफ्ना संगी सम्बन्धी र ईष्टमित्रहरुलाई बाँड्ने गर्दछन् ।

व्रतालुहरुले शिवरात्रिको अघिल्लो दिनसम्म प्रसाद वितरण गर्दछन् भने शिवरात्रिको दिन उनीहरुको घर घरमा भोज खाने प्रचलन छ । यस दिन नेवार समुदायका व्रतालुहरुको घर–घरमा आफ्ना आफन्तजनहरुले सगुन उपहार ल्याउने चलन छ । यस दिन सगुन लिएर भोज खाईसकेपछि व्रतालुहरु रातभर ज्योतिर्लिङ्गेश्वर परिसरमा जाग्राम बस्दछन् भने भोलिपल्ट व्रतालुहरु बज्रयोगिनीको दर्शन गर्दै आ–आफ्नो घरतिर लाग्दछन् । यस रात जाग्राम बसेर बज्रयोगिनीको दर्शन गरेपछि मात्रै व्रतको पूण्य फल मिल्ने जनबिश्वास रहेको छ ।

यस दिन साँवागण, देवता बोक्ने र कजीको टोली भने सारुक्वलां पूजा गरिसकेर प्रसाद खाईवरी मात्रै ज्योतिर्लिङ्गेश्वर परिसरमा भजन गर्न पुग्दछन् । यस दि माघ महिनाभरि गाईने भजन रातभर गाउने चलन रहेको छ ।

Post a Comment

0 Comments