बत्तिस लक्षणयुक्त शालिनदी अश्वमेघ यज्ञ






प्रकाशमान सक्व

साँखु शालिनदी स्वस्थानी साँगे पूर्णिमाका दिन सम्पूर्ण एक सय आठ पु¥याएर श्रीश्रीश्री माधव नारायण भगवानको मूर्तिको विधी न्यास पूजा गर्न अश्वमेघ यज्ञ गर्नु पर्ने प्रावधान रही आएको पाईन्छ । घोडालाई नियमानुसार पूजा गरी हज्जारौँ सशस्त्र सेना पछाडि पठाई छोडिने उक्त घोडा जहाँ जहाँ पुग्दछन् ती सबै जग्गा जमीन र राज्यका राजा, महाराजालाई परास्त गरी आफ्नै राज्यमा फर्केका सैनिकहरु र घोडालाई धुमधामले स्वागत गरी अन्तमा आफू छत्रपती महाराजधिराज भएको घोषणा गरी घोडालाई बली दिई घोडाको टाउको नै यज्ञमा होम गरी कार्य सम्पन्न गर्नुपर्नेलाई अश्वमेघ यज्ञ भनि पुराणमा प्रख्यात गराईएको छ । राजा रामले पनि त्यस्तै अश्वमेघ यज्ञ गर्न लाग्दा उसकै छोराहरु लवकुशले घोडा समाएर रामका सेनालाई परास्त गरिदिँदा यज्ञ सम्पन्न गर्न नपाएको र पछि सीताले सबै कुरा थाहा पाई छोराहरुलाई सम्झाएर घोडा फर्काईदिई अश्वमेघ यज्ञ सम्पन्न गराएका थिए । त्यत्ति हुनु अगाडि लक्ष्मण, हनुमान, राम सहित रामका शसस्त्र सेनालाई नै ती दुई युवा लवकुशले पराजित गरेको कुरा रामायणमा उल्लेख गरिएका छन् । राम पछि चक्रवर्ती राजा भएको र रामराज्य गरेको कुरा रामायणमा उल्लेख छ ।

त्यस्तै भगवान विष्णुले पनि पौराणिक कालमा देवासुर संग्राममा मायासूर दैत्यलाई पराजित गर्न सर्वप्रथम स्वस्थानीको उपासना गरी द्वादश तीर्थ, नवकुण्डल र नव नागको दैनिक स्नान, दान पूजा, परिक्रमा गरी स्वस्थानी देवीको रुपमा श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी खुशी तुल्याई विजयवाहिनी मन्त्र वरदान पाई शत्रु पक्षका असुर पराजित गरि अश्वमेघ यज्ञ गरी चक्रवर्ती भएको स्मरण स्वरुप वर्षेनी भगवानको सुवर्णमूर्तिलाई शालिनदीमा स्वस्थानीको व्रत उपासना गराई एक महिना पछि व्रत साँगे गर्न अश्वमेघ यज्ञ गर्ने गरिन्छ । तर वास्तविक घोडाको बदलामा प्रतिमा घोडा प्रयोग गरि तान्त्रिक पद्धतीबाट त्यसको वध कार्य गरी जटावाल नरिवलको पगरीनै होम गर्दछन् । त्यस अवसरमा माधवनारायणको नाम जपी स्वस्थानी व्रत बस्ने सम्पूर्ण व्रतालुहरुले पनि आ–आफ्नो मनसुवा पूर्ण होस् भनी सम्पूर्ण सामग्री सहित जटावाल नरिवल, सवालाख बत्ति, लुगा कपडा समेत यज्ञमा होम गर्ने गरिन्छ ।

यज्ञमण्डपमा एक महिनासम्म माधवनारायणको सेवा गर्ने सप्तर्षी स्वरुप ७ जना साँवाहरु, स्वस्थानी वाचन गर्ने नारदस्वरुप शिवपूजा गर्ने भट्टाचार्य ब्राम्हण सहित यज्ञ आचार्य ज्योतिषाचार्य, कर्माचार्य सहित गुरुदक्षिणामूर्ति, माधवनारायण पूजारी मूलाचार्य भई अश्वमेघ यज्ञ सम्पन्न गर्दछन् ।

शालिनदी यज्ञस्थलमा सम्पूर्ण व्रतालुहरुले आ–आफ्नो गच्छे अनुसारको सामग्री सहित कलश घैँटो समेत स्थापना गरी माधवनारायणलाई चढाउने गर्दछन् । पूर्ण कलशको रुपमा गुठीबाट दिएको खर्चबाट एकसय आठ कलश घैँटाहरु बत्तिस लक्षणले युक्त गरी काँचो इँट्टाको मण्डपमा गोबरले लिपेर यज्ञस्थल नजिकै स्थापना गर्दछन् । यज्ञारम्भको निमन्त्रणा एकदिन अगाडि ठाउँ ठाउँमा दश दिशामा शंख ध्वनी गरी तेत्तिसकोटी देवता आव्हान गर्ने प्रचलन छ । एकसय आठ कलश घैँटामध्ये इन्द्रकलश सबैभन्दा ठूलो हुन्छन् भने अन्य देवी देवता अनुसार फरक फरक हुन्छन् । यज्ञसम्पन्न भएपछि इन्द्रकलश राजदरवार पु¥याईन्छ ।

अश्वमेघ यज्ञ सुभारम्भ अगाडि नियमानुसार श्री गणेश, अष्टमातृका, कुण्डल, तीर्थ र नवनाग आव्हान गरी पूजा सुरु गरिन्छन् । त्यसपछि माधवनारायणको मूर्तिलाई जन्म, पास्नी, न्वारन, गुप्ती, शुभ उपनयन आदि कार्य समपन्न गरी पूर्ण न्यास कार्य गरी अश्वमेघ यज्ञ सम्पन्न गरेपछि एघार महिनाको लागि विष्णु भगवान बैकुण्ठ पुरी फर्केको प्रतिक स्वरुप साँखु ब्रम्हपुरमा विराजमान गराउन श्री दक्षिणामूीर्त गुरु राजोपाध्यायज्यूले गुप्तरुपमा शालिनदी तीरबाट लैजान्छन् । एघारमहिना साँखु ब्रम्हपुरमा राजोपाध्याय पूजारीले दिनहूँ नित्यपूजा, बेलुका आरती गरिनुपर्ने प्रावधान रही आएको छ ।

अश्वमेघ यज्ञ कलश घैँटामा बत्तिस लक्षण युक्त गर्न निम्न सामग्रीहरुले पूर्ण गर्नुपर्दछ । ती सम्पूर्ण सामग्री सहितको कलश नै पूर्ण कलश मानिन्छन् । जुन आ–आफ्ना मान्यजनलाई पनि व्रतालुहरुले प्रसाद दिँदा बाँड्ने चलन छ ।

यज्ञकलशमा राखिने सामग्रीहरु ः पञ्च पल्लव ः वर, पिपल, आँप, चाँप र बाँसका पात– ५, पञ्च पत्ता ः रातो, सेतो, निलो, हरियो, पहेँलो झण्डा–५, पञ्चरङ्गी सगुन चित्र ः माछा, छत्र, चमर, ध्वजा, कमलफूल – ५, गाईको दूध–१, गोबर–१, गहुत– १, नवकुण्डल, द्वादशतीर्थको जल–१, निगालो–१, सल्लोको बीउ–१, सेतो कपडाको कलश बेर्ने कपडा–१, ग्वेँका–१, पासुका–१, सुन्तला–१, वयर–१, सेती वयर–१, अमला–१, पानी अमला–१, केराउ–१, उखु–१ र जजंका–१ ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments