माधवनारायण व्रतका केही नियमहरु


माधवनारायण व्रतका केही नियमहरु


चिभ्वय् नयेगु २०७८ माघ २ गते आईतवार जल कायेगु (जल लिने)

व्रत सुरु २०७८ माघ ३ गते सोमवार

सनातनदेखि चलिआएको यस व्रतका नियमहरु यसप्रकार छन्–

१. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरु ः

क नुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने)

क अन्य पशुपंक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने)

क जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिलाहरु तथा अछुतहरु ।

क जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट गर्दा नछोईकन कुराकानी गर्ने ।

क दुध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने ।

२. सम्पूर्ण व्रतालुको हकमा भोजन गर्न हुने वस्तुहरु ः

क दुध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो । भिमा एकादशीको िदनमा दुई पटक व्रत वसिसकेपछि त्यो एक दिन फलाहार गर्ने (फलफूल मात्र खाने– सुन्तला, उखु, तरुल, पिँडालु तथा दुध मात्र ।

३. सम्पूर्ण व्रतालुहरुले भोजन छोड्नुपर्ने अवस्था ः

क भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नुपर्दछ । यस्तो अवस्थाको लागि पहिल्यै चिउरा, चाकु, घ्यु आदि नजिकै आफूले भ्याउने ठाउँमा राख्ने र अर्कै थालमा बसेको स्थानबाट नउठीकन लिएर खान सकिने छ ।

क फाटेको दुध सेवन गर्नु हुँदैन । दुध भोजनको बेला बाहेक खान हुँदैन ।

क भोजन गर्दागर्दै बीचमा उठ्नु हुँदैन । यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।

क भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरुले नछुने ठाउँमा बस्ने ।

४. दैनिक व्रत बसिसकेपछि शंखरापुर (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखो पानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने । भोजन दिनको १ पटक मात्रै गरिने भएकोले अरु बेला कुनै पनि खाने पिउने चिज खान हुँदैन । आवश्यकता अनुसार पानी पिउन सकिन्छ । कसरी पिउने भन्ने विषयमा पूजारी बाजे र साँवागणसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

५. व्रतालुहरुले केही गर्न नहुने तथा बार्न नहुने विषयहरु ः

क गाडी चढ्न नहुने, विरामी भएमा औषधी सेवन गर्न नहुने ।

क आफन्तको जुठो, सुतक बार्न नहुने ।

क साबुन तथा अन्य कुनै पनि वस्तुहरु छुन तथा प्रयोग गरि नुहाई धुवाई गर्न नहुने ।

क गोल तथा अन्य दन्तमञ्जनहरु प्रयोग गर्न नहुने ।

क सम्पूर्ण व्रतालुहरुले उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने ।

क व्रतालुहरुले खुट्टामा लगाउने कुनै पनि गहना लगाउन नहुने ।

६. खीर (तस्मी) भोजन खुवाउने दिनमा सम्पूर्ण व्रतालुहरुले घरमा भोजन गर्न नहुने र सो दिन आफ्नो घरमा चुल्हो समेत बाल्न नहुने । तस्मी खान साँवा गणबाट शंख बजाउँदै आएपछि मात्र शालिनदी परिसरमा जाने । शालिनदीमा तस्मी भोजन गर्ने दिन आफूलाई आवश्यक दुध तताउनु परेमा मकलमा गोलको सहायताले तताएर थर्मस वा भाँडामा राखेर लान सकिन्छ । तर बाटोमा कसैलाई पनि छुन दिनु हुँदैन । दूध भोजनकै बेलामा मात्र खान सकिन्छ । घरमा तस्मी भोजन वर्जित छ । माघ शुक्ल नवमीका दिन तस्मी भोजन गराउने परम्परा रही आएको छ । यस पछाडि अन्य भक्तजनहरुले समेत तस्मी भोजन गराउन सक्छन् यसको लागि साँवागण र मूल पुरोहित बाजेसँग सरसल्लाह गर्नुपर्नेछ ।

७. परदेश यात्रामा सबै व्रतालुहरु जम्मा भईसकेपछि साँवा गणबाट श्री माधवनारायणको शंख जल सेचन पछि मात्र भोजन गर्नुपर्ने ।

परदेशमा भोजन गर्ने स्थानहरु ः

पशुपतिबाट फर्पिङ्ग जाँदा सानो गौचरणमा

फर्पिङ्गबाट साँखु आउँदा शंखमूलमा

पनौतीबाट साँखु आउँदा भोखुसीमा र

चाँगुबाट साँखु आउँदा साँखुमा ।

(परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यु, चिनी, लप्सी, रातो मुला, अदुवा आदि आफैले व्यवस्था गरेर लानुपर्नेछ । साथै दुधको लागि पनि नजिकका आफन्तले निराहार बसी दुध पकाएर लगिदिएमा खान हुनेछ ।

परदेश यात्राका दिनहरु ः

शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (२०७८ माघ १६ गते आइतवार)

साँखुबाट बज्रयोगिनी र पशुपति – माघकृष्ण चतुर्दशी (माघ १७ गते सोमवार)

पशुपतिबाट फर्पिङ्ग बास – (माघ १८ गते मंगलवार)

फर्पिङ्गबाट साँखु बास – (माघ १९ गते बुधवार)

साँखुबाट पनौति बास – (माघ २१ गते शुक्रवार)

पनौतिबाट साँखु बास – (माघ २२ गते शनिवार)

श्रीपञ्चमी पर्व – (माघ २३ गते आइतवार)

लगला सप्तमी पर्व – (माघ २५ गते मंगलवार)

द्रोण नवमी (व्रतालुहरुलाई तस्मी खुवाउने दिन ः माघ २७ गते बिहीवार)

साँखुबाट चाँगुनारायण स्थान – (माघ २९ गते शनिवार)

चाँगु बाट साँखु – (फाल्गुन १ गते आइतवार)

देव निमन्त्रणा – (फाल्गुन ३ गते मंगलवार)

अश्वमेघ यज्ञ (व्रत साङ्गे) – (फाल्गुन ४ गते बुधवार)

मिगा पूजा – (फाल्गुन ५ गते बिहीवार) (व्रतालुहरुले माघ गाउने)

शिवरात्रि २०७८ फाल्गुण १७ गते मंगलवार (व्रतालुहरु जाग्राम बस्ने दिन)

८. स्त्री व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरु ः

क स्त्री व्रतालुहरुले बिहान शंखध्वजपछि शालिनदी जानुपर्दछ, साथै पूजाको सामान (धलंपिच्चा) सहित रातो टिका (धलंपता), रातो ओढ्ने र रातै वस्त्र धारण गर्नुपर्नेछ ।

क रजस्वला भएकी महिला व्रतालुहरुले अरु व्रतालुहरुलाई छुन हुँदैन साथै पूजा सामग्री समेत छुन हुँदैन । तर माधवनारायण देवताको स्नान गराउने समयमा छुट्टै स्थानमा बसी अन्य व्रतालुहरुसँगै स्नान गर्ने र व्रत पूजा गर्दा समेत छुट्टै स्थानमा बसेर आफ्नो पछ्यौरामा भगवान सम्झी पूजा गरि नदिमा लगेर सेलाउनु पर्दछ ।

क रजस्वला भएकी महिला व्रतालुहरुले चौँथो दिन घरमा नुहाएर शालिनदी जाने शालिनदीमा पुनः नुहाईवरि धलंपुली बाहिर गई साँवागणबाट जलसेचन गरिसकेपछि मात्र शुद्ध हुने परम्परा रही आएको छ । त्यसअघि व्रतपूजा गर्ने जगटीभित्र पस्न निषेध गरिएको छ ।

क कुनै पनि महिला व्रतालु वा अन्य व्यक्तिहरु (पुरुष व्रतालु बाहेक) धलंपुलीभित्र पस्न निषेध गरिएको छ ।

क रजस्वला भएकी महिला व्रतालुहरुले भोजन गरिसकेका अन्य व्रतालुहरुसँग छोईछिटो भएमा छोईएका अन्य व्रतालुले समेत भोलि बिहन छुट्टै नुहाईवरि साँवागणसँग जल नलिएसम्म अन्य व्रतालुहरुसँग छुट्टै बस्नुपर्दछ । पुरुष व्रतालुहरुको हकमा भने धलंपुली बाहिरै सुत्नुपर्नेछ ।

९. पुरुष व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरु ः

क पुरुष व्रतालुहरुले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन् ।

क नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनुपर्नेछ ।

माथि उल्लेखित नियमहरु बाहेकका कुनै समस्या आएमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईकेसँग सोधपूछ गर्नुपर्नेछ ।

परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ । यस वर्ष पनि स्वस्थानी व्रत वस्न आउने सम्पूर्ण व्रतालुहरुलाई स्वागत गर्दै सनातनकालदेखि चलिरहेको यस व्रतका नियमहरुलाई अनिवार्यरुपमा पालना गरि स्वस्थानी माताको कृपा पात्र बन्नुहुनेछ भनि आशा गरेका छौँ ।

(माघ मेला तथा माधवनारायण व्रतको सन्दर्भमा यी माथि उल्लेख गरिएका नियमहरु प्रस्तुत गरिएको छ । यसमा केही छूट हुन गएको भए पुनः प्रकाशनको लागि थप गर्न आफ्नो राय सल्लाह दिन समेत हार्दिक अनुरोध गर्दछौँ । सुझाव दिँदा भरसक लिखितरुपमा दिनुहुन समेत अनुरोध छ । – श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति)

Post a Comment

0 Comments