राज्य जिम्मेवार होस्



किशोरी हत्या प्रकरणमा तातिएर केही समय सेलाएको कञ्चनपुर पुनः तातिने संकेत देखापरेको छ । केही समय अगाडि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरकी १३ वर्षीया बालिकाको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन शुरु भएको छ ।

बालिका हत्याको विषयमा उच्चस्तरिय छानवीन समितिको प्रतिवेदन गृहमन्त्रीले बुझेपछि सार्वजनिक भएको छैन । प्रतिवेदनमा के छ भन्ने कुरा जबसम्म गृहले सार्वजनिक गर्दैन तबसम्म प्रतिवेदनमा भएको विषयवस्तुवारे कुनै कुरा बाहिर आएतापनि ती कुराहरु सुने र सुनाईएको घटनाको रुपमा मात्रै ब्याख्या गर्न सकिने हैसियतको हुनेछ ।

अर्थात् ती र त्यस्ता घटनाको बारे बाहिर सुनिने कुराहरुले “रे” को अर्थ लाग्ने गर्दछ । जस्तै फलानाको हत्या भयो रे ! फलानाको बलात्कार भयो रे ! फलानो ठाउँमा गोली चल्यो रे !

आम जनतालाई यस्ता सूचनाहरु मात्रै पुग्नु रआधिकारिक कुरा नपुग्दा अन्यौल र भ्रम उत्पन्न हुन्छ । जुन कुरा साह्रै गलत हो । रे र भ्रमका कुरा जनतासमक्ष पुग्दा सरकारी संयन्त्र कमजोर भएको अनुभव गर्नुपर्ने हुन्छ भने घटना लुकाइँदा वा लुकाउन बल पु¥याईएको आभास आम जनतामा पुग्दा उनीहरुको राज्यप्रतिको बिश्वास र भरोसा मर्छ ।

जुन प्रजातान्त्रिक प्रणालीको लागि स्वस्थकर रहन्न । कुनै पनि घटना घट्नु वा अपराध हुनु ठूलो विषय हैन । यस्ता घटनाहरु दिनानुदिन हुन्छन् । तर त्यस्तै अपराधिक घटनाबाट पाठ सिकेर त्यस्ता घटनाहरु हुनै नदिनका लागि र घटना भएमा त्यस्ता घटनाहरुका दोषीलाई कार्वाही गर्नको लागि नै राज्य भनिने प्रणालीको आवश्यकता महसुस गरेरै आम जनताले आफ्नो प्रतिनिधि चुनेर राज्य वा सरकार बनाएका हुन् ।

राज्य वा सरकारले बनाएका ऐन कानुन सबैको लागि बाध्यकारी हुने व्यवस्था पनि प्रजातान्त्रिक प्रणालीमा अपरिहार्य तत्व हुन् ।

तर नेपालमा पञ्चायतकाल देखिनै अझ भनौँ राणाकाल देखिनै एउटा उखान चलन चल्तीमा छ । “नेपालको कानुन दैबले जानुन् !”

यो उखान आम जनतामाझ लोकप्रिय बन्नुको तात्पर्य हो सरकार फेल हुनु । सरकारले कानुनी राज्यको परिपालना गर्न गराउन नसक्नु वा सरकारकै तर्फबाट ऐन कानुनको पालना नहुनु वा धज्जी उडाउनुलाई यो उखानले संकेत गर्दछ ।

अहिलेको सरकारलाई त्यस्तो के बाध्यता आईप¥यो र कञ्चनपुर घटनाको उचित र छिटो काम कारवाहीहरु सरकारले गर्न सकेन । हुनतः फिलिपिन्समा हत्या गरिएका मार्कोस्को हत्याको विषय होस् अथवा नेपालकै राजनीतिमा उल्लेख गरिने गरेका जननेता मदन भण्डारीकै हत्याको विषय किन नहोस् । अझ यो भन्दा ठूलो घटना राजदरवार हत्याकाण्डको अहिलेसम्म उचित छानवीन भै सत्यतथ्य सहितको छानवीन प्रतिवेदन र त्यसमा उल्लेख गरिएका व्यक्तिउपर के कस्तो कारवाही गरियो भन्ने विषयमा आम जनताले चित्त बुझाएका छैनन् । अर्थात् राज्यले गरेको काम कारवाही आम जनतालाई चित्त बुझेको छैन । यस्तो घटना ले राज्यमाथि जनताको भरोसा सकिन्छ । त्यसैले सरकारले जिम्मेवार भएर आम जनतालाई आफु माथिको भरोसा नतोडियोस् भन्ने तर्फ सचेत हुनु जरुरी रहेकोछ ।

लावण्य सन्देश वर्ष ८ अंक १६ को सम्पादकीयबाट

Post a Comment

0 Comments