लावण्य÷साँखु । आज चैत्र २६ गतेबाट साँखुमा प्रत्येक वर्ष हुने नेपाल शिरोमणी बज्रयोगिनीको जात्रा सुरु भएको छ ।
यस वर्ष जात्रा औपचारिकरुपमा नित्य पूजा, क्षमा पूजा लगायतका पूजा आजाहरु मात्रै गरेर सुरु गरिएको थियो ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिनदेखि ९ दिनसम्म चल्ने यस जात्रामा शंखरापुर नगरपालिकाका सबैजसो गाउँहरुबाट साँखु बजारमा आई जात्रा हेर्ने परम्परा रही आएको थियो ।
तर यसवर्ष कोरोनाको प्रकोपका कारण लकडाउन भईराखेको स्थितिलाई ध्यानमा राखेर सर्वपक्षीय भेला गरी नगरपालिकाले औपचारिक पूजा आजामा सीमित हुने गरी जात्रा चलाउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई टेक्दै आज औपचारिक पूजा आजा गरि जात्रा सुरु गरिएको हो ।
जात्राको परम्परा अनुसार भोलि चैत्र २७ गते शून्यकाको रुपमा मनाईन्छ भने चैत्र २८ गते नखः, चैत्र २९ गते मूल जात्रा, चैत्र ३० गते मूःभूज्याः, बैशाख १ गते धुँभूज्या, बैशाख २ गते बौबिज्या, बैशाख ३ गते थहाँ बिज्याः र बैशाख ४ गते बज्रयोगिनी माईको जात्रा समापन गरिन्छ ।
त्यसपछि बैशाख ६ गते र ७ गते बिचाः पूजा गरिने परम्परा रही आएको थियो ।
यस वर्ष भने यी सबै पूजा आजाहरु सीमित हुने भएको छ । नखःको दिनमा समेत बज्रयोगिनीमा गई पूजा आजा गर्ने कार्य बन्द गरिने जानकारी समेत जात्रा व्यवस्थापन समितिले गराएको छ ।
0 Comments
Thanks for your concerns