जन्ती बस दूर्घटना दूलहा सहित ३८ घाइते

साँखु÷गत मंसिर १७ गते बिहान लप्सेफेदीको जंगलमा भएको जन्ती लिएर आएको ना ४ ख ९२०१ नं. बस दूर्घटना हुँदा ३८ जना यात्रु (जन्तीमा आउने) हरु घाइते भएका छन् । संयोगले दूलहा भने सामान्य घाइते भएको र उनी उपचारपछि स्वयम्बरको लागि तत्कालै प्रस्थान गरेका थिए । सो बस सिन्धुपाल्चोकको बाँडेगाउँ गाविस धुसेनीबाट काठमाडौँको गुहेश्वरी मन्दिरमा विवाहको लागि जन्ती लिएर आएको बुझिएको छ । सो बसका चालक विशाल तामाङ थिए भने सो बस चिरण कटुवालको रहेको बुझिएको छ । बसको गति केही अत्यधिक रहेको यात्रुहरुको भनाई रहेको छ । दूर्घटना हुनुको प्रमुख कारण बे्रक फेल हुनु रहेको छ । बस सडकबाट करिब सय फीट तल खसेको थियो । चालकले तत्काल गाडी मोड्न नसक्नु र बे्रक नलाग्नुको कारण सो दूर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सय फीट तल खस्दा पनि मानवीय क्षति नहुनुमा गाडी सिधै रुखमा ठोक्किएर मात्रै तल खसेको यात्रुहरुको भनाई रहेको छ । जन्तीमा संलग्न रमेश सापकोटाका अनुसार घाइते लिलानाथ सापकोटालाई अर्थोपेडिक हस्पिटल नारायणटार लगिएको छ । सो सम्बन्धमा साँखु बस व्यवसायी संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार १३ जना घाइते पिपल्स लाइफ केयर हस्पिटल साँखुमा रहेको र त्यहाँ अध्यक्ष आफै घाइतेको हेरविचार गर्दै थिए । त्यसैगरी सुषमा मेमोरियल टूस्टमा २१ जना घाइतेहरु रहेको र उनीहरुको उपचारमा संघका सचिव एलपी श्रेष्ठ आफै खटिनुभएको तथा नेपाल मेडिकल कलेजमा रिफर्ड गरिएका घाइतेहरु केदार माझी, दिनेश लुइँटेल र उत्तम लुइँटेलको लागि कार्यालय सचिव पदम श्रेष्ठ खटिनु भएको जानकारी समेत उहाँले दिनुभएको छ । लप्सेफेदीको जंगलमा जहाँ यसपटक बस खसेको छ । सो ठाउँमा यस अघि पनि पटक पटक साना ठूला दूर्घटना हुने गरेको भुक्तभोगीहरुको गुनासो रहेको छ । सो स्थानमा घुमाउरो बाटो हुनु र ठाडो ओरालो हुनुको कारणले गर्दा पनि दूर्घटना बढेको अनुमान स्थानीयको रहेको छ । यतातर्फ यातायात व्यवसायी, चालक, सहचालक एवं सडक विभागको ध्यान पुगेमा दूर्घटनामा कमी आउने थियो कि ?

Post a Comment

0 Comments