मधेशलाई सम्विधानबारे बुझाउन नसक्दा समस्या भएको हो –कुइँकेल

साँखु÷असोज ३ गते सम्विधान जारी गर्नु अगाडि नै मधेशी समुदायलाई सम्विधानबारे बुझाउन नसक्दा अहिलेको समस्या उत्पन्न भएको हो । उक्त कुरा नेपाली काँगे्रसका सभासद् दीपकप्रसाद कुइकेलले शंखरापुर नगरपालिकाद्वारा आयोजित “नेपालको सम्विधान जनताको सम्विधान, जनताको सम्विधान जनताकै माझ” अभियानको भगवती उच्च माध्यमिक विद्यालयमा सुभारम्भ गर्दै बताउनुभएको हो । उहाँले अगाडि भन्नुभयो– निश्चितै रुपमा हामीले सम्विधान घोषणा गर्नु अगावै मधेशमा सम्विधानबारे उचित जानकारी गराउनपथ्र्यो तर त्यसपछि भने अहिले आन्दोलनरत मधेशका नेताहरुले भ्रम फैलाउन सफल भएको र जनता आन्दोलित भएको बताएका छन् । अन्तरिम सम्विधानमै रहेका केही प्रावधानहरु संशोधन गर्दा मधेशमा पहिले दिएको अधिकार समेत फिर्ता गरिएको भ्रम त्यहाँका जनतालाई रहेको बताउँदै उनीहरुको भ्रम चिर्न नसकेसम्म त्यहाँको आन्दोलन नरोकिने बताउँदै मधेशी समुदाय जहिल्यै पनि नेपालको सिमाना रक्षक रहेको हुँदा उनीहरुलाई विदेशी व भारतीय भनि हेप्नु जायज नरहेको उहाँको भनाई रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व शंखरापुर नगरपालिकाका कार्यकारी निर्देशक दुर्गानाथ गौतमले गर्नुभएको थियो । सो अवसरमा उहाँले सो कार्यक्रमबारे जानकारी समेत दिनुभएको थियो । उक्त कार्यक्रमको गत मंसिर २१ प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा जीवन श्रेष्ठ, शंकरमल्ल ठकुरी, एलपी श्रेष्ठ, भीष्मराज खड्का, युधिष्ठिर बानिया, मञ्जु खड्का, निरज केसी लगायतका वक्ताहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम छोटो समयावधी दिएर गरिएको तथा विदाको दिन नपरेको हुँदा सहभागिता केही न्यून रहेको थियो । कार्यक्रममा नयाँ शक्ति अभियानको तर्फबाट युधिष्ठिर बानियाँ समेत सहभागी भएका थिए ।

Post a Comment

0 Comments