खुमबहादुरको नेतृत्वमा हिन्दू राष्ट्र पुनस्र्थापना समिति गठन

साँखु÷गत कार्तिक १४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन भएको छ । समितिमा सभासददेखि कांग्रेसका केन्द्रीय सदस्यसमेत छन् ।
बालुवाटारको नेपाल हाउस रेष्टुरेन्टमा शुक्रबार आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउन समिति गठन गरेको हो । पार्र्टीले धर्म निरेपक्षतालाई स्वीकार गरे पनि पार्टी नीति विपरीत गठन गरिएको समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे रहेका छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् ।
समितिका सदस्यहरुमा पूर्वसभामुख तारानाथ रानाभाट, सभासद सुवर्ण जुहार्चन र केन्द्रीय सदस्य पुष्पा भुसाल र नवलपरासी सभापति देवेन्द्रराज कँडेलसमेत रहेकाछन् ।
अभियानका सदस्यमा चीरञ्जीवी वाग्ले, शिवराज जोशी(दैलेख), दुर्योधनसिंह चौधरी, चन्द्र केसी, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह, भोला थापामगर, नारायण कोइराला, सियाराम राय यादव, लोकेश ढकाल, पत्रकार देवप्रकाश त्रिपाठी, कृष्ण लामा, डा. मीठाराम बिक,  खेमराज सेढाइँ, देवीप्रसाद न्यौपाने, रमेशजंग रायमाझी र मानबहादुर रावल समेत छन् ।
पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रचारविभागको जिम्मा दिइएको छ भने खेमराज सेढाइँलाई आर्थिक विभाग प्रमुख बनाइएको छ ।
अभियानले कात्तिक २० गते प्रज्ञाभवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । भेलामा देशैभरिका कांग्रेस नेताहरु सहभागी हुने सदस्यसचिव कुमार रेग्मीले जानकारी गराएका छन् । साथै भेलामा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई अतिथिका लागि आग्रह गर्ने निर्णय भएको समेत बताएका छन् ।

Post a Comment

0 Comments