एसएलसीमा ४७ प्रतिशत उत्तिर्ण साँखु भेगमा परिणाम मिश्रित


साँखु÷गत बुधबार प्रकाशित २०६८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको नतिजा अनुसार मुलुकभर कूल ४७.१६ प्रतिशत उत्तिर्ण भएका छन् । एक्जाम्टेडतर्फ भने १३.७० प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण हुन सफल भएको छ । यो परिणामसँगै एसएलसीमा गरिएको राज्यको लगानी खेर गएको विज्ञहरुले औँल्याएका छन् ।
वास्तविकता भने त्यस्तो हैन । यो वर्ष ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई फेल नगर्ने नीति अनुसार विद्याथीहर्रु टेस्टमा फेल भएनन् फलस्वरुप जो विद्यार्थी कमजोर भए उनी एसएलसीमा फेल भएका छन् । त्यसमाथि सरकारी विद्यालयमा हुने व्यवस्थापन र शिक्षकहरुबीचको दलीय राजनीतिक चिन्तनका कारण पनि विद्यार्थीहरु फेल भएका हुन् । विद्यालयमा पढाउनुको सट्टा राजनीति गर्दै हिँड्ने शिक्षक र विद्यार्थी नेताहरुका साथसाथै अभिभावक वर्गबाट चुनिएका सञ्चालक समितिका पदाधिकारीहरुका जायज नाजायज राजनैतिक भागवण्डाका कारण पनि शिक्षाको गुणस्तर खस्केको हो ।
अर्कोतर्फ नीजि विद्यालयको नतिजा सतप्रतिशत उत्तिर्ण देखिनुलाई शिक्षाविद्हरुले राज्यको लगानी खेर गईरहेको अर्थमा लिने गरेका छन् । तर यता तर्फ ध्यान दिँदा पनि कुनै एक विद्यार्थी जसलाई एसएलसी उत्तिर्ण गराउनका लागि सरकारी स्तरबाट तोकिएका किताबहरु पढाईन्छ भने अर्को नीजि विद्यालयतर्फ भने सोही विद्यार्थीलाई कम्तीमा सरकारी अनुसार प्लस टु स्टैडण्र्डको किताब पढाईन्छ अनि उनीहरुलाई एउटै प्रश्न सोधिन्छ भने कसरी समान हुनसक्छन् । यसैले शिक्षा क्षेत्रमा सरकारी र प्राईभेटमा एउटै किताब बनाउन जोड दिनुपर्दछ । यस्तो भएमा स्वतः दुईथरी शिक्षा हुँदैन र समान अवसर दुवै विद्यालयमा पढ्ने विद्यार्थीहरुले लिन पाउँछन् ।
यस वर्ष साँखु भेगका अधिकांश विद्यालयको परिणाम राम्रो रहेतापनि कुनै कुनै विद्यालयको परिणाम खस्केको देखिएको छ । हामीलाई प्राप्त परिणाम अनुसार साँखुकै पुरानो स्कूल भाग्योदय उच्च माविमा जम्मा ५९ जना विद्यार्थीहरुले एसएलसी परिक्षा दिएकोमा ६ जना प्रथम श्रेणीमा र ३७ जना द्वित्तीय श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ । सँगैको भगवती उच्च माविमा कूल ३५ जना विद्यार्थीहरुले एसएलसी परिक्षा दिएकोमा ६ जना विद्यार्थी प्रथम श्रेणीमा र २४ जना विद्यार्थी द्वित्तीय श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ ।
त्यसैगरी राष्ट्रिय उच्च माविमा कूल ३८ जनाले नियमित तर्फ परिक्षा दिएकोमा ३८ जनाले सफलता प्राप्त गरेको छ भने एक्जाम्टेडमा ३ जनाले परिक्षा दिएकोमा तीनै जनाले सफलता प्राप्त गरेको छ । प्राप्त तथ्यांक अनुसार प्रथम श्रेणीमा ११ जना, द्वित्तीय श्रेणीमा २४ जना र तृत्तीय श्रेणीमा ३ जना विद्यार्थी पास भएको छ । कालिकाशरण उच्च मावि जहरसिं पौवाबाट कूल ९१ जना विद्यार्थीले एसएलसी परिक्षा दिएकोमा २४ जना विद्यार्थी मात्र उत्तिर्ण हुन सफल भएको छ ।
नीजि स्कूल तर्फ एभरग्रीन उच्च माविबाट २७ जना विद्यार्थीले डिस्टिङ्सन प्राप्त गरेका छन् भने २२ जनाले प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ । उक्त स्कूलबाट सबैभन्दा बढी प्राप्तांक ८८.६५ प्रतिशत अंक प्राप्त गरेको बुझिएको छ । बज्रयोगिनी बोर्डिङ स्कूलबाट १३ जनाले डिस्टिङ्सन र १३ जनाले नै प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ । उक्त स्कूलबाट सबैभन्दा बढी प्राप्तांक ९० प्रतिशत अंक प्राप्त गरेको बुझिएको छ । त्यसैगरी सेरेनहिल ईङ्लिस स्कूलबाट २० जना विद्यार्थीले डिस्टिङ्सन प्राप्त गरेका छन् भने १६ जना विद्यार्थीले प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ भने संगम स्कूलबाट ८ जनाले डिस्टिङ्सन प्राप्त गरेका छन् भने ११ जना विद्यार्थीले प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएको छ ।
यी माथिका परिणाम हेर्ने हो भने नीजि तर्फका विद्यालयहरुले सतप्रतिशत उत्तिर्ण गरेका छन् भने सार्वजनिक विद्यालयतर्फ पनि कालिकाशरण उच्च मावि बाहेकका स्कूलहरुले सन्तोषजनक परिणाम ल्याएका छन् ।
यसैबीच भगवती उच्च माविबाट एसएलसीमा उत्तिर्ण विद्यार्थीहरुलाई अनौपचारिक रुपमा उक्त स्कूलले सम्मान गरेको छ । सो अवसरमा प्राचार्य रामगोपाल श्रेष्ठले विद्यार्थीहरुलाई एसएलसी उत्तिर्ण भयो भन्दैमा नफुर्किन आग्रह गर्दै उच्च शिक्षाको अवसर प्राप्त भएकोमा बढाई दिएका थिए । गत वर्ष विद्यार्थीहरुको हाजिरी रेकर्ड कम भएको तर्फ औँल्याउँदै अनुशासनमा रहन जोड दिएका थिए ।
सो कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट सुदिप खत्री र समिता श्रेष्ठले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालक समितिको तर्फबाट पोते थिङले सम्बोधन गरेका थिए । कार्यक्रममा अधिकांश शिक्षकहरुले विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।

Post a Comment

0 Comments