भट्टराईको विकल्प खोजी सुरु !

साँखु÷नेकपा माओवादी भित्रै प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्रीको रुपमा गरेको मधेशी मोर्चासँगको चारबुँदे सम्झौता, भारतसँग गरिएको विप्पा सम्झौता, प्रमुख चार दलबीच भएको सात बुँदे सम्झौताका कारण वैद्य समूह भट्टराईसित असन्तुष्ट एवं आक्रोशित थियो । उनीहरुले यस सम्झौता विरुद्ध सडक आन्दोलन समेत गरेका थिए ।
यसैबीच यी माथिका विभिन्न विषयमा आपसी द्वन्द्व हटाउन भनी डाकिएको केन्द्रिय कमिटीको बैठक सूचना टाँस गरि अनिश्चितकालको लागि स्थगित गरिएको छ ।
कार्यालय सचिव विकेश श्रेष्ठका अनुसार अर्को वैठक छलफलपछि मात्र तय गरिनेछ । यसबीच शीर्ष नेताहरुबीच छलफल गरिने जानकारी पनि श्रेष्ठले दिएका छन् ।
अर्कोतिर वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री भट्टराईको औचित्य सकिएको जनाउँदै मधेशी मोर्चासँग गरिएको चारबुँदे सम्झौता, भारतसँग गरिएको विप्पा सम्झौता एवं हालै चार प्रमुख दलबीच भएको  ७ बुँदे सम्झौताको विरोध गर्दै सेना समायोजनको सरकारी खाकाको पूर्ण विरोध गरेको छ । साथै मोहनवैद्य र रामबहादुर थापा बादलले लडाकुको नाममा सार्वजनिक अपिल प्रकाशित गरि उनीहरुलाई सेना समायोजन प्रक्रियामा सहभागी नभई गोल्डेन ह्याण्डसेकको रुपमा ५ लाख देखि नौ लाख सम्मको रकम लिई अवकाश लिन आव्हान गरिएको छ ।
मोहन वैद्यले आगामी नेतृत्वको विषयमा समेत खुलेर भन्न थालेका छन् वर्तमान प्रधानमन्त्रीको औचित्य सकिएको कारण अब कसले नेतृत्व गर्ने भन्ने विषयमा चर्चा गरिनुपर्ने बताएपछि भने एमाओवादी भित्रै बाबुरामको विकल्प खोजिएको चर्चा चलेको हो । प्रधानमन्त्री भट्टराईले प्रमुख चारदलबीच सहमति भईसकेको विज्ञ समूह बनाउनको लागि गरिन लागेको सम्विधान संशोधनको विषय फिर्ता लिनुपरेको छ । यस विषयमा संसदीय दलमा उनले ह्विप जारी गराउन कोशिस गरेतापनि असफल भएपछि स्थायी समितिको बैठकले सरकारलाई संविधान संशोधनको विषय फिर्ता लिन निर्देशन दिए अनुसार उनले फिर्ता लिएको हो ।
यसले गर्दा प्रधानमन्त्री बाबुराम भट्टराई पार्टीभित्र एक्लिएको अनुमान राजनैतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
प्रचण्डले खेल खेले !
प्रधानमन्त्रीको रुपमा मुस्ताङ चढेर लोकप्रियता कमाएका भट्टराईको लोकप्रियता जम्बो मन्त्रिमण्डल बनाएपछि गुमेको छ । प्रचण्डले आफ्नो पक्षका १८ जना मन्त्रिमण्डलमा पठाएर मधेशी मोर्चाका २८ जना मन्त्रि बनाई ठूलो मन्त्रिमण्डल बनाउन लगाएर बाबुरामको साख गिराईसकेपछि माओवादीको स्थायी समिति बैठकबाट प्रमको संविधान संशोधनको विषय फिर्ता गर्न निर्देशन दिँदै भट्टराईलाई प्रधानमन्त्रीबाट विदाई गर्ने संकेत गरेको छ । जुन मन्त्रिमण्डलमा आफू सहित पाँच जना मात्रै भट्टराई पक्षधर छन् ।

Post a Comment

0 Comments