कागेअष्टमी र देवी नृत्य : एक चर्चा




– श्रीकृष्ण श्रेष्ठ, साँखु/कुमार लामा कागेश्वरी

प्रत्येक वर्ष कागेअष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । यसपाली पनि सो मेला भदौ १९ गते परेको छ । यस वर्ष मेला व्यवस्थापन भव्यरुपमा गर्ने निर्णय सो क्षेत्रका सरोकारवालाहरुको बैठकले गरेको छ ।

मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रा गरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिन कागेश्वर स्थानमा जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरुको पूजा आजाको लागि पनि भीड लाग्ने गर्दछ । तर यस वर्ष लकडाउन र कोरोना महामारीका कारण केही नजिकै झाँक्रीहरु र केही आसपासका दर्शनार्थीहरु बाहेक कागेश्वरी पुग्ने मानिसहरुको खोजी गर्नु पर्ने हुनसक्छ ।

वर्षभरिमा कोही कसैलाई काग वा चराचुरुङ्गीले विष्ट्याएमा कागेअष्टमीका दिन कागेश्वर महादेवस्थानमा गएर स्नान गरेमा चोखो हुन्छ भने कथन रहेको छ । मेलामा आएका भक्तजनहरुलाई कागेश्वरी गुठीले आफ्नो आयश्रोतबाट प्रसाद बाँड्ने चलन थियो हाल आएर गुठीको जग्गा रैकर र व्यक्तिको नाममा दर्ता हुन आएपछि यो परम्परा हराएको छ ।

कागेश्वर महादेवको बारेमा एउटा किंबदन्ती कथा यस प्रकार वर्णन गरिएको पाइन्छ । धेरै पहिले एउटा गाईले किसानलाई दूध दिएन । त्यसपछि त्यो गोठाला किसानले गाईको चियो गरेर हेर्दा गाईले निङ्गालोको झाङ्ग र एउटा ढुङ्गाको पहरा छेउमा गई दूध आफैले चुहाएर चढाएको भेट्टाए । त्यसपछि सो स्थानमा राम्रोसँग खोजविन गर्दा सुनको काग देखिएको थियो । त्यसपछि सोही ठाउँमा तत्कालिन सरकारले गुठी बनाई केही जग्गा आयस्ताको रुपमा राखेर कागेश्वर महादेवको स्थापना गरि पूजाआजा गराएका थिए ।

साँखुमा देवी नाच

साँखुमा कागेअष्टमीको दिन देवी, चण्डी र भैरव गरि तीन जना देवीदेवताहरुको नाच देखाउने चलन छ । यस नाच लाई स्थानीयले “देवी प्याखं” भन्ने गर्दछन् । साँखुमा नचाईने देवीको नाच अन्य स्थानमा नचाईने देवीको नाच भन्दा केही फरक रहेको विश्वास गरिएको छ । यो नाच रातभरि साँखुका परम्परागत चारवटा डवली (चलाखुटोलको देवी दबु, इल्लाटोलको लायकू दबु, धुंल्ला टोलको द्यः दबु र साल्खा टोलको जन दबु) हरुमा र विभिन्न देवस्थानहरु र चोक चोकमा द्यःल्हायेगु र बाटोमा समेत नाच्दै जाने चलन रहेको छ ।

यो नाच चलाखुटोलमा पश्चिम फर्काएर नचाइन्छ भने दुगाहिटी टोलमा उत्तर फर्काएर नचाइन्छ । त्यसैगरी सुन्टोलमा उत्तर फर्काएर नचाइन्छ भने साहाँगालमा पनि उत्तर फर्काएर नचाइने हुँदा डबलीमा नचाएको हेर्न अप्ठ्यारो छ । इपाटोल, र ईल्लाटोलमा देवी नृत्य पश्चिम फर्काएर नचाइन्छ भने धुँल्लाटोल र साल्खाटोलमा पनि उत्तर फर्काएर नै नचाइन्छ ।

यस नाचमा ख्याक, कंकाली र बेतालको अर्को समूहले पनि रमाईलो गरि नाच देखाउने चलन रहेको छ । सायद एउटै किसिमको चर्या नाच हेर्दा खल्लो नलागोस् र देवी नाच नाच्ने व्यक्तिहरुलाई केही समय आराम गर्ने वातावरण मिलोस् भनेर यसरी ख्याक नाचको व्यवस्था गरिएको हुनुपर्छ । उक्त देवी, चण्डी र भैरवलाई पूजा गरि साक्षात् भगवती स्वरुप मानि धार्मिक आस्थाका साथ पूजा प्रार्थना गर्ने गरिन्छ । देवी नाचमा ख्याक, बेताली, कवंचा हुनुलाई देवी, लक्ष्मी लगायतका देवी देवताहरुको गणकै रुपमा लिइन्छ ।







नेवारहरुको परम्परागत शास्त्रिय गीत मालश्री र खिं, नायखिं, नाशगोरा, अस्टारा, तिन्छु र माहेलींंका साथ साथै अन्य बाजाहरु बजाइ शास्त्रिय संगितको आधारमा यो नृत्य नचाईन्छ । बाजा बजाउनेले गल्ती गरेमा खड्ग लिई नाचिरहेको बेला सोही खड्गले उक्त बाजालाई छप्काउने (प्रहार गर्ने) गरेको भनाई सुनिनमा आएकोले उक्त नाचमा बाजा र राग गीतको पनि उत्तिकै महत्व रहेको मान्न सकिन्छ ।

यो नाच दशैंको केही दिन अघिदेखि तिहारसम्म र श्री उग्रतारा बज्रयोगिनी जात्राको निम्तो जाने दिन (जात्रा ८ दिन अघि) देखि बीचाः पूजा (जात्रा सकेको ४ दिन पछि जाने पूजा) नसकेसम्म (२० दिन) देवी नृत्य निकाल्न नपाइने भनि देवी नृत्य सिकाउन पूजा गर्ने पूजारी गुभाजु (बज्राचार्य) लाई चाहिने विधि पुस्तकमा उल्लेख भएको पाइन्छ । कागेअष्टमी बाहेक यस नाच नचाउन यदि कसैले नासद्योः (नाट्यश्वर) को पूजा गरी अनुरोध गरेमा रामनवमी र जुवाहर नवमी (बज्रयोगिनी एवं चाँगुनारायण मेला) का दिन देखाईने चलन रहेको छ । नाच सिकाउनु र निकाल्नु अघि हृयाउँख्वा माजु (श्री उग्रतारा बज्रयोगिनी) को पूजा गरिन्छ । नाच सुरु गर्नु अघि देवी चण्डी र भैरवको शिरमा एक एक वटा हृयाउँख्वामाजुको शिरको किकंपा राखी दिने चलन रहेको छ । यसले गर्दा श्री उग्रताराले नै तिनीहरुलाई दैवी शक्ति दिने अनुमान गर्न सकिन्छ ।

यस नाचमा देवी, चण्डी, भैरव, ख्याक, कंकाल र बेताल आदिका साथै राग गाउने र बाद्य बादकहरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । देवी र चण्डीले रातो रंगको भने भैरवले कालो रंगको मुकुट र जामा लुगा लगाउन्छन् । उनीहरुले खुट्टामा घंघला, हातमा चुरा, चाँदीको कंगन, घाँटीमा ठूलो बुट्टाको सिक्री, तायो र शिरमा हृयाउँख्वा माजुको शिरमा रहने किकंपा (जुन जात्रा पछि फिर्ता बुझाइन्छ ) का साथै विशेष प्रकारले सजाईएको (चुबेकु स्वाँ अर्थात् सुगन्धराज फूल) फूलका साथै अन्य गरगहनाले सजाइने गरेको पाइन्छ । साँखुमा प्रदर्शन गरिने देवीको  नाचमा अन्यत्रमा जस्तो महिशासुर दैत्यको प्रतिनिधित्व रहँदैन र खाली प्रतिकात्मक रुपमा देवी, चण्डी र भैरव तीन जनाले नाच्दै आफ्नो खड्ग ढुङ्गामा छप्काउँदै (प्रहार गर्दैं) दैत्यको बध (हत्या) गरेको मुद्राको ज्वलन्त अभिनय गरि देखाइन्छ । यस सम्वन्धमा प्रचलित एक किंवदन्ती अनुसार पहिले साँखुको देवी नाच हरेक वर्ष काठमाडौंको हनुमान ढोकामा लगी नचाइन्थ्यो । त्यस क्रममा एकवर्ष हनुमान ढोकामा साँखु र काठमाडौंको देवी नाच वीच जम्का भेट हुँदा साँखुको देवी नृत्यमा दैत्य पात्र नभएको भनि खिज्याइएको थियो । त्यस क्रममा साँखुका देवी गुठीका गुठियारहरुले साँखुको देवी नाचमा साँच्चिकै देवी भगवतीको प्रवेश हुने भएकोले दैत्यको रुपमा नाच्ने व्यक्तिको शारिरीकरुपमै बढ हुने जनविश्वास रहेकै कारण दैत्य पात्र नराखिएको जिकिर गरेका थिए । तर यसरी जिरह गर्दा काठमाडौँका देवी टोलीले नमानी “ल हाम्रो दैत्य पात्र राखेर नचाउन सक्छस्” भनि चुनौति दिएकाले बाध्यभई तिनीहरुको दैत्य पात्र राखी नचाउँदा दैत्यलाई छुँदै नछुवाई आफ्नो खड्ग देवीले ढुंगामा प्रहार गरी दैत्य मार्ने अभिनय गर्दा दैत्य पात्र हुने व्यक्तिको तत्कालै अचेत भई मृत्यु हुन पुगेको जस्तो अचम्मको घटना घटेपछि साँखुको देवी त साँच्चिकै दैवी शक्ति भएको मानिएको थियो । सोही बेला देखि यस देवीलाई साँखुमा मात्र नचाउनु, हनुमान ढोका ल्याउन पर्दैन भनि राजाज्ञा भएपछि साँखुमा मात्र नचाउने गरेको भनाई रहेको पाइन्छ ।

यस नाचको थालनी नेपाल सम्वत ९७६ भन्दा धेरै वर्ष अघि नै साँखुमा सुरु भएको देखिन्छ । एक दिन हृयाउख्वा माजुले तीन जना बच्चाहरुको भेष धारण गरी चलाखुटोलको सिन्धु चोकमा आई नाचिरहेको बेलामा साँखुका शक्तिशाली तान्त्रिकले देखि तिनीहरु हृयाउँख्वा माजु नै रहेको भन्ने विश्वासमा तारण राखी (तान्त्रिक बलले) समाती अव देखि वर्ष वर्षमा आई नाच देखाउने कवुल गराई छाडेको र त्यसै बेलादेखि साँखुमा देवी नाच शुरु भएको भन्ने किंवदन्ति रही आएको छ । दैवी शक्ति सम्वन्धमा देवी नृत्यको लागि आवश्यक सरसामानहरु गुठीको नाय (मुली) को घरमा राखिने र त्यसको कोठामा हरेक दिन आरती गर्ने गरिन्छ ।

एकपटक देवी नाच चलाउन नसक्दा बज्रयोगिनीको सम्पूर्ण बाँदरहरु साँखुमा आई उत्पात मचाई दुःख दिन थालेपछि नाच देखाउन ढिलो भएको कारणले यस्तो भएको होला भनी नाच देखाउनको लागि सिकाउन शुरु गरेपछि बाँदरहरु विस्तारै साँखुबाट हट्दै गए भन्ने किंवदन्ती पनि सुनिनमा आएको छ । साँखुको देवी नाचलाई अत्यन्त शक्तिशाली र उग्ररिसमा ठूलो विध्वंस र खुशीमा कल्याण सुख र समृद्धि दिने हृयाउँख्वा माजु कै रुप मान्नु पर्ने र मानिआएको पनि पाइन्छ ।

नृत्य चलाउन गृुठीको व्यवस्था रहेको छ । जस्ले गुठीको जग्गाबाट प्राप्त हुने धान र गुठी भवन भाडामा दिएवापत प्राप्त हुने बहाल रकमबाट यो नाच देखाउँदै आएको छ । गुठीले यसलाई मनोरञ्जनको रुपमा नलिई साँस्कृतिक नाचको रुपमा लिइएको छ । यस नाचलाई अझै विकसित, उत्कृष्ट र आर्थिक एवं भौतिक रुपमा सम्पन्न बनाउन सकेमा विश्वसामु नेपाली कला संस्कृतिलाई परिचित गराउन र पर्यटन प्रवद्र्धन गर्न यसबाट थप टेवा पुग्ने कुरामा कसैको दुईमत रहँदैन ।

यस वर्ष देवी नाच नयाँ पुस्ताले सिक्दैछ, देवी नाच मात्रै हैन यसपाली खिं बाजा, मायलिं समेत नयाँ पुस्ताले र त्यो पनि नेवार समुदायको विशेष जातले हैन विविध जातिकाले नै बाजा गाजा सिक्न थालेपछि बाजा परम्परा नमासिने भएको छ ।

यस वर्ष नयाँ देवी सिकाइएको हुँदा पञ्चवली पूजा र ३ दिन लगातार देवी नाच नचाइने बुझिएको छ ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments