– प्रकाशमान श्रेष्ठ ‘सक्व’
साँखु शंखरापुर नगरपालिका वडा नं. ८ स्थित बज्रयोगिनी क्षेत्रको वन क्षेत्र रहेको दथुमाला स्थान नै बज्रयोगिनीका पूजारीहरुको प्रथम बसोबास स्थान मानिएको छ । अष्टमातृका पीठ चामुण्डा देवी मुख्य मानिएको दथुमाला क्षेत्रको पद्ममाल्य विहार नामको विहारमा आफ्नो आगम घर बनाई नित्य योगध्यान गरि उग्रतारा मूलमन्त्र, प्रत्यंगिरा पाठ, एकजटी पाठ, सद्धर्म पुण्डरीकाक्ष पाठ, पञ्चरक्षापाठ आदि देवी स्तोत्र पाठहरु सहित बज्रयानतन्त्र अनुसन्धानमा लीन भई सर्वश्रेष्ठ गुरुजु पदमा आसिन हुने बज्रयोगिनीका पूजारीका सन्तान दर सन्तानहरु हाल साँखु, काठमाडौँ उपत्यकाको ठाउँ ठाउँमा बसाई सराई सर्दै विश्वको अनेकौँ राष्ट्रमा समेत स्थान्तरण भैसकेका छन् ।
दथुमाला स्थानमा हालसम्म पनि चामुण्डादेवी पीठ क्षेत्र रहेको स्थानलाई संरक्षण गरिनु पर्दछ । उक्त क्षेत्रमा सिद्धार्थ गौतम बुद्धले पनि आफ्ना शिष्यहरुलाई पद्ममाल्य विहारमा विराजमाान भई कथा श्रवण गराई तारा शतनाम स्तोत्र पाठ कण्ठ कराई बज्रयोगिनीको उत्पत्ती, शंखरापुर नगर स्थापना र शंखदेवको जन्म, बाल्यकाल, शिक्षा अध्ययनको विस्तृत वर्णन गरिएको थियो ।
कालान्तरमा परिवारहरुको विकास सँगसँगै दथुमाला क्षेत्रबाट बज्रयोगिनी मन्दिर क्षेत्रको चारैतिर दुरुपुखु, महाँकाल स्थान, बगैँचा क्षेत्र पूर्वभागमा पनि बज्राचार्य पूजारीहरुको बसोबास बढ्दै गए । यसरी बांगाल क्षेत्रमै बसोबास गरी ज्योतिष शास्त्र, समुद्र शास्त्र, वास्तुशास्त्र, वास्तुकला, चित्रकला, मूर्तिकला, गीत, गायत संगित समेतको शिक्षा आर्जन गरि देव आव्हान, बिसर्जन, जात्रा पर्वको समेत विकास गरेकाले जगतमा बस्ने भलादमीको परिचयपाई “गुँभाजु”, गुरुजु, बन्दे गुरु, गुरुमण्डल आदि पदबाट विभुषित भएका छन् । उक्त क्षेत्र महाचीनको नामले प्रख्यात थिए ।
धेरै काल बितेपछि साँखु शंखरापुर सक्व नगरक्षेत्रमा स्थानान्तरण भएपछि “नेपाल मण्डल” प्रवेश गरेको स्मरण स्वरुप माघ १ गते संक्रान्तिको दिन “नेपाजाः” गुठी पर्व हाल सम्मन सञ्चालन गरिँदै आईरहेका छन् । बज्रयोगिनीमा पालोपर्ने पूजारी बज्रयोगिनी मन्दिर परिसर, मणिचुड क्षेत्र, दथुमाला, महाँकाल स्थान, सिंगपू सत्तलसम्म मात्र घुमफीर गर्न सक्ने प्रावधान राखिएको छ भने सम्यक पञ्चदानको जात्रा पर्व चलाई मूल पूजारी सहित पाँच थाकुली पूजारी वर्गहरु सहित भाद्रकृष्ण त्रयोदशीका दिन एकपटक साँखु शंखरापुरी नगरीमा पञ्चदान ग्रहण गर्न सकिने नियमा बाँधिएको छ ।
मणिशैल महावदानको हस्तलिखित घटनाबली र वंशावली अनुसार शुभ सम्वत् ६४८ पौष कृष्णको प्रतिपदा आदित्यवारको शुभ लग्नमा जयदेव बज्राचार्य र ज्ञानदेव बज्राचार्य दाजुभाईका परिवार शंखरापुर साँखुमा दुच्छेबहाल मूलघरमा बस्न आएको अभिलेख पाईएको छ । यस अभिलेखको हिसाबले हाल २०७६ सालमा झण्डै ४९० वर्ष अगाडि बज्रयोगिनीका पूजारीहरु बज्रयोगिनी जंगलभित्रको दथुमाला, दुधपोखरी, गुँबिार आदि स्थानमा बसोबास गरेको पुष्टी हुन्छ । वंशावली अनुसार २४ (चौबिस) पुस्ताका पूजारी वर्गदेखि साँखु नगरभित्र बसोबास गर्दै आईरहेको बुझ्न सकिन्छ ।
शंकराचार्यले बुद्ध प्रतिमा र बुद्ध पुजारीहरु विस्थापित गर्न अगाडि सम्म काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक क्षेत्र र मन्दिरमा बज्राचार्य पूजारीहरु थिए । कतिपय बुद्ध चैत्यलाई विस्थापित गरि अन्य धर्मावलम्बीहरुलाई पजारी बनाई बुद्ध चैत्य र बौद्ध परमपरामा परिवर्तन गरि पूजा पद्धतीपनि हेरफेर गरिएको थियो । उदाहरको लागि बज्रयोगिनीमा महाँकाल भैरव स्थानमा भैरवीचक्र पूजा अन्तरगत पञ्चवली प्रथा चलाईएको, जोगेश्वर चैत्य छोपेर बाहिरबाट पशुपति मन्दिर जस्तै दुईतल्ले पैगोडा शैलीको मन्दिर निर्माण गर्न बाध्य तुल्याएको थियो ।
त्यस्तै चावहिलमा चैत्यको पूर्वी ढोका सदाका लागि बन्द गराई दक्षिण ढोका भित्र चैत्यको सँगै दक्षिणामुखी चावहिल गणेशको मूर्ति स्थापना गराईएको थियो । हालसम्म पनि चावहिल गणेश स्थानमा पूर्वी ढोकाको बाहिर दायाँ बायाँ सिंह दुईवटाको मूर्तिहरु देख्न सकिन्छ । र दक्षिण तिरको गणेशको मूर्तिको बाहिर ढोकामा पनि नयाँ सिंहका जोडी मूर्तिहरु देख्न सकिन्छ । पशुपतिमा पनि बज्राचार्य पूजारी हटाई भट्ट ब्राम्हण पूजारी बसालेको इतिहासमा उल्लेख गरिएको पाईन्छ ।
साँखुको सन्दर्भमा आजसम्म पनि बज्रयोगिनीका पूजारीहरुले आफ्नो बंसज सँग मिल्ने बज्राचार्य र शाक्य कूलका कुलपुत्री र कुलपुत्रीहरुको मात्र वैवाहिक सम्बन्ध रहेकाबाट जन्मेका कुलपुत्र बाहेक अन्य कूलकुलायनबाट जन्मेकालाई बज्रयानतन्त्र अनुष्ठान विधिमा सहभागी गराइँदैन र उनीहरुलाई पूजारी बन्ने प्रक्रियाबाट हटाईएका छन् ।
वंशावली अनुसार “परिपुस्ता चोया तया जुल” न्हापां भनेर तपसीलको उनात्तीसौँ पुस्तासम्मको नामावली यस प्रकार छन् ।
१) बाचासिद्धी, २) ज्योतिदेव, ३) स्थिरदेव, ४) पद्मदेव, ५) गिरिदेव, ६) मणिदेव, ७) विक्रमदेव, ८) बक्रदेव, ९) जोगदेव, १०) उग्रदेव, ११) आनन्ददेव, १२) हर्षदेव, १३) सिद्धिदेव, १४) चन्द्रदेव, १५) किर्तिदेव, १६) विरदेव, १७) प्रज्ञादेव, १८) यक्षराजदेव, १९) बन्धुदेव, २०) जयरागदेव, २१) रत्नदेव, २२) अहुतराजदेव, २३) हिरण्यदेव, २४) ज्ञानदेव र जयदेव, २५) बाबुदेव, २६) ज्ञानज्योतिदेव, २७) सिद्धिमुनीदेव, २८) जयधम्र्मदेव र धनसिंदेव ।
जयधम्र्मदेवको दुईवटी श्रीमतीहरुबाट क्रमशः जेठी सरस्वती र कान्छी सितावतीमध्ये सरस्वतीको एक छोरा जितारीदेव र सितावतीको चार छोराहरु अमृतप्रभदेव, सिद्धिवरदेव, चैत्यमुनिदेव र करविरदेव गरि पाँच छोराहरु जन्म भए ।
वंशावली अनुसार चौबिसौँ पुजारीहरु ज्ञानदेव र जयदेवमध्ये जयदेवको छोरा नभएको र छोरी मात्र भएको त्यस्तै अठ्ठाइसौँ पुस्ताका धनसिंदेव अविवाहित भई शुभ सम्वत् ७८१ बैशाख शुक्लपक्ष पूर्णिमा, पुनर्वसुनक्षत्र,
सिद्धियोगको वृहस्पतिबारका दिन दिवंगत भएको शिलापत्रमा नै उल्लेख गरिएको भेट्टीएको छ ।
यसरी बज्रयोगिनी पूजारीवर्गहरुको
पाँच थाकुली बस्ने र पालैपालो बज्रयोगिनीको पूजारी भई आठ आठ दिनको पालो फेर्ने नियमावली बनाई अठ्ठाईसौँ पूजारी जयधम्र्मदेवले वंशावली समेत तयार गरेर पालोको नियम समेत तयारगरि लिखितम रुपमा सबै सन्तान दर सन्तानले आफ्नो वंशावली लेख्नुपर्ने नियम बनाईदिएका थिए ।
हालसम्मन बज्रयोगिनीका पूजारीहरुको वंशावली वृक्ष तयार गर्दा सम्मन झण्डै चालिस पुस्ताभन्दा बढी पुगेको जानकारीमा आएको छ । शंखरापुरको गौरव बज्रयोगिनी मन्दिरका पूजारीहरुको उत्पत्ती थलो शंखरापुर नगरपालिका वडा नं. ८ को दथुमाला स्थान र बज्रयोगिनी मन्दिर वरपरलाई “ऐतिहासिक, धार्मिक, साँस्कृतिक संरक्षण क्षेत्र” घोषित गरि संरक्षण गर्नु आवश्यक भएको छ ।
-प्रतिक्रियाको लागि lwsandesh@gmail.com_
1 Comments
प्रकाश दाइ! लेख गज्जब लाग्यो। ईतुम्बहालका हाम्रो पुस्ता बज्रयोगिनिबाटै आएको भनेको सुनेकोछु। हाम्रो ईतुम्बहालको पुस्ता कहिलेतिर काठमाण्डु गएकोरहेछ ! केही थाहापाउन सकिन्छ कि !
ReplyDeleteThanks for your concerns