ई. राजदास श्रेष्ठ
जर्मनहरुको संगतमा तपाइँ कहिले कसरी पर्नु भो त उनको प्रश्न थियो ।
सन् १९७७÷७८ (२०३६ साल) तिर म त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र निर्माण सामग्री विकास शाखामा काम गर्थेँ मेरो पहिलो श्रीमती भालेन्टिना श्रेष्ठ सँगै । उहाँ पनि एक इञ्जिनियर हुनुहुन्थ्यो ग्लास टेक्नोलोजिष्ट (सिसा बनाउने प्राविधिज्ञ) र म सिमेन्ट टेक्नोलोजिष्ट ।
त्यहिँ काम गर्दा हो मैले भूसको सिमेन्ट बनाउने प्रविधि विकास गरेको । भूसको खरानी र चूनको समिश्रणबाट एक प्रकारको सिमेन्ट पदार्थ बनाउने प्रविधि विकास गर्नुको साथै सानो ल्याबोरेटरी स्केलमा सिमेन्ट उत्पादन पनि गरेको थिएँ । यो कुराले काठमाडौँ र नेपालमा अलि निकै प्रचार प्रसार पायो । त्यसबेला नेपालमा टेलिभिजन अझै आएको थिएन । टेलिभिजन ल्याउन फिजिबल होला कि नहोला भन्ने बहस चाहिँ चल्न थालेको मात्र थियो ।
टेलिभिजन नभएकोले मैले गरेको अनुसन्धान कार्यको विषयमा केवल पत्रपत्रिकामा नै बढी प्रचार प्रसार भयो र कहिलेकाहिँ रेडियो नेपालमा पनि मेरा अन्तर्वार्ता र मेरो कामको विषयमा चर्चा परिचर्चा हुन्थ्यो । र यही कामको सिलसिलामा म र मेरा श्रीमती देशको विभिन्न जिल्लामा ठाउँ ठाउँमा कच्चा पदार्थहरुको निरिक्षण भ्रमणमा जान्थ्यौँ र विभिन्न ठाउँबाट माटो, चुनढुंगा, कमेरो, दर्शन ढुंगा, राटोमाटो, बालुवा आदि संकलन गरेर ल्याउँथ्यौँ र अनुसन्धान गथ्र्यौँ । यी कच्चा पदार्थहरुको उपयोगिता बारे । मेरो ध्यान मुख्यतया केन्दित थियो । नेपालमा चुन ढुंगाबाट चुन र सिमेन्ट उत्पादन गर्ने र श्रीमतीको काम थियो नेपालमा सिसा (ग्लास) उत्पादन गर्ने कच्चा पदार्थ पाउँछ कि पाउँदैन । धेरै ठाउँबाट धेरै जिल्लाबाट उहाँले विभिन्न प्रकारका बालुवा संकलन गरेर ल्याए र अन्तमा हेटौँडाको कर्रा खोलाबाट ल्याएको बालुवाबाट सिसा निकाल्न सफल भए ।
मैले विरगंज चिनी कारखानाबाट निस्कने लाईम स्लज चिनी प्रसोधन गरेर निस्कने एक क्याल्सियम युक्त फाल्टु पदार्थ (वेस्ट बाई प्रडक्ट) बाट भुसे सिमेन्ट उत्पादन गर्न सफल भएँ । चिनी कारखानाको लाईम स्लज जहिलेपनि जहाँ पनि नपाइने भएकोले भरपर्दो चुनको लागि मैले धादिङ्ग जिल्लाको जोगिमाराको चुन ढुंगा प्रयोग गरेँ ।
जोगिमाराको चुन ढुंगा धेरै उच्च कोटीको सावित भयो र त्यहाँ सहजरुपमा चुन खानीबाट ढुंगा पनि निकाल्न सक्ने भएकोले एकजना स्थानीयबासी मित्र पुष्पराज खतिवडालाई एउटा चुन उद्योग नै स्थापना गर्न पनि सहयोग गरिदिएँ र त्यस उद्योगबाट पहिलोपल्ट व्यापारीकरुपमा चुन उत्पादन गरेर काठमाडौँ कालिमाटीमा विक्री पनि गर्न ल्याइयो । र केही समयपछि त्यस उद्योगबाट विभिन्न चरण पार गरी अलि ठूलै स्केलमा एक निजी तथा त्यसपछि कृषि चुन उद्योग चोभारले पनि औद्योगिक स्तरमै राम्रो क्वालिटीको चुन उत्पादन गर्न थाले । हाल यी उद्योगहरु के कति अवस्थामा छन् त्यो भने थाहा भएन ।
भर्खर भर्खर नयाँ खुलेको व्यावहारिक तथा अनुसन्धान केन्द्र किर्तिपुरमा कार्यरत हामी (म र श्रीमती भालेन्टिना श्रेष्ठ सोभियत नागरिक) दुइजना इन्जिनियरहरु रात दिन दिलोज्यानले मिहिनेत गर्दै थियौँ र यसरी माथि भनिएका चुन, सिमेन्ट र सिसा (ग्लास) सम्बन्धी अनुसन्धान कार्य बाहेक हामीले एक नयाँ परियोजना पनि सुरु ग¥यौँ । त्यो हो धुवाँरहित आधुनिक चुल्होको निर्माण तथा परीक्षण । स्थानीयतहमा उपलब्ध हुने ढुङ्गा माटो र बालुवाको प्रयोग गरी सजिलो तरिकाले विभिन्न डिजाइनका चुल्होहरु बनाएर त्यस प्रकारको चुल्होबाट भान्सा कोठा भित्र धुवाँ नआउने प्रविधि अपनाउने र खाना पकाउँदा इन्धन (मुख्यत दाउरा)को खपटमा कमी ल्याउने मूल उद्देश्य लिएर काम गर्न थाल्यौँ । यस काममा सफलता पनि मिल्दै गयो । नेपालमा ९० प्रतिशत घर दैलोमा खाना पकाउन त्यसबेला दाउरा नै प्रयोग हुने गथ्र्यो । एलपी ग्याँस प्रयोगमा आएको थिएन । हाम्रो परम्परागतरुपमा चलाउँदै आएको खुला चुल्हो प्रयोग गर्दा भान्छा कोठामा प्रसस्त धुवाँ आउने र अनि दाउराको खपट पनि आवश्यक भन्दा बढी नै मात्रामा हुने गरेकोले यो एउटा नेपाल राष्ट्रको लागि इन्धन समस्या र वन विनासको एक ठूलो चुनौति भैरहेको थियो ।
अर्कोतर्फ खाना पकाउने घरका गृहिणीहरुको स्वास्थ्यमा ठूलो नकारात्मक प्रभाव पारिराखेको थियो । ती चुल्होबाट निस्कने धुवाँ धुलोबाट नेपालको परम्परागत चुल्होमा भान्छाकोठाबाट धुवाँ बाहिर जाने प्रबन्ध गरिएको हुँदैन । त्यसमा फेरी चुल्होमा बाल्ने धेरैजसो दाउरा पूरा सुकेको हुँदैन । यसरी नसुकेको दाउरा बाल्दा एकातिर आगो राम्ररी नबल्नुको साथै कार्वन मनोअक्साइडयुक्त कालो विषालु धुवाँ प्रसस्त निस्कने हुन्छ । यस धुवाँले मानिसको फोक्सोमा प्रत्यक्ष प्रभाव पार्ने र श्वास प्रश्वास प्रणालीमा नराम्रो असर पार्छ । यसले गर्दा दम खोकी र आस्थामा रोग उत्पन्न हुन्छ मानिसको शरीरमा । त्यसबाहेक त्यो विषालु कालो धुवाँले आँखाको दृष्टीमा पनि धेरै हानी गर्छ ।
यी कुराहरुलाई ध्यानमा राखी हामीले घर घरमा प्रयोग गर्न सकिने र सर्वसुलभ हुन सक्ने आधुनिक चुल्होहरुको निर्माण परीक्षण गर्दै गयौँ । यस कामको पनि राष्ट्रिय स्तरमै प्रचार प्रसार हुन गयो । जसले गर्दा देश भित्रका विभिन्न संघ संस्था र केही मात्रामा विदेशी संस्थाहरुबाट पनि ठूलो चाख लिई हाम्रो परियोजना हेर्न थुप्रै मानिसहरु आउन थाले । समय समयमा यस प्रकारको चुल्होको विषयलाई लिएर सभा तथा अन्तरक्रियाहरु पनि हुन थाल्यो ।
त्यसबेला नेपालका जिल्ला जिल्लामा, अञ्चल अञ्चलमा राजा विरेन्द्रको विकास भ्रमण चलिरहेको थियो । र मध्यमाञ्चल विकास भ्रमण हुने सिलसिलामा हाम्रो अनुसन्धान केन्द्रमा पनि विरेन्द्र सरकारको सवारी हुने खबर प्राप्त भो हामीलाई । सरकार सवारी हुने बेलामा हामी कसरी प्रस्तुत हुने र हामीले आफुले सञ्चालन गरिरहेको परियोजना कसरी प्रस्तुत गर्ने भन्ने बारेमा प्रशिक्षण दिन थालियो । यसै सिलसिलामा भ्रमण अगाडि हाम्रो प्रयोगशाला तथा हाम्रा कार्य गतिविधिको बारेमा बुझ्न विभिन्न सरकारी तथा सुरक्षा निकायबाट अधिकृतहरु आउनु भो र एक दिन भ्रमण हुनु केही दिन अगाडि त्यसबेलाका शिक्षामन्त्री माननीय पशुपति सम्शेर राणा स्वयम पनि हाम्रो प्रयोगशालामा आउनुभो । हामीले उत्पादन गरेको भुसे सिमेन्ट, सिसा, धुवाँ रहित चुल्हो र अन्य योजनाका बारेमा प्रत्यक्ष जानकारी लिनु भो ।
हाम्रो कामदेखि उहाँ प्रभावित हुनु भो र हामीले प्रतिक्षा गरेकै दिन राजा विरेन्द्रको सवारी भयो । हाम्रो व्यावहारिक विज्ञान अनुसन्धान केन्द्रमा । सवारीमा बडामहारानी ऐश्वर्य, प्रधानमन्त्री किर्तिनिधी विष्ट, शिक्षामन्त्री पशुपति सम्शेर राणा, दरवारका सचिव नारायण प्रसाद लगायत गन्यमान्य व्यक्तिहरुको ठूलो मात्रामा उपस्थिति थियो । अनुसन्धान केन्द्रका सबै अधिकृतहरु, हामी केही डर केही त्रासका साथ बडो सतर्कता लिएर उभिरह्यौँ आ–आफ्नो परियोजना स्थलमा । अनुसन्धान केन्द्रको सभाहलबाट एक डेढ घण्टाको औपचारिक सभा पछि राजारानीको सवारी चलाउनु भो केन्द्रमा तत्कालीन कार्यकारी निर्देशक स्व. अमिर बहादुर श्रेष्ठले ।
स्व. राजारानीको हामीले सभक्ति स्वागत ग¥यौँ आफ्नो प्रयोगशालाभित्र, म र मेरी श्रीमती भालेन्टिनासँग झण्डै आधा घण्टा सरकारले समय बिताउनुभयो । हामीले सञ्चालन गरेको विभिन्न वैज्ञानिक अनुसन्धान कार्यहरुको बडो चाख र चासो लिएर राजाले म सँग रानीले भालेन्टिनासँग कुराकानी गर्नुभो ।
निर्दिष्ट समयभन्दा बढी भएर होला सरकारलाई हामीबाट सादर अनुरोधका साथ अर्को परियोजना स्थलमा लगियो । जीवन पहिलो चोटी राजा रानीसँग यसरी प्रत्यक्ष भेटघाट र बाचचित गर्नु हाम्रो लागि एक सौभाग्य नै सावित भयो र सरकारको भ्रमण भएको केही दिनमै मलाई केन्द्रका कार्यकारी निर्देशकले आफ्नो कक्षमा बोलाएर भन्नुभो तिम्रो कामबाट सरकार अत्यन्त प्रसन्न भई बक्सियो र तिमीलाई शिक्षा मन्त्रालयबाट यस वर्षको “राष्ट्रिय शिक्षा पुरस्कार” दिने निर्णय भएको छ भन्ने कुरा पनि बताउनु भयो । मेरो लागि यो दिन र यी घटनाहरु जीवनको यात्रामा एक कोशेढुंगा सावित भयो ।
राजाको भ्रमण भएको केही दिन पछि विभिन्न संघ संस्थाबाट हाम्रो प्रयोगशालामा विभिन्न उद्देश्यका साथ पाहुनाहरु आउन थाले । जस्तो कि अमेरिकाबाट पीसकोर, संयुक्त राष्ट्र संघ युनेस्कोका प्रतिनिधी र अमेरिकी राजदूत र जर्मन राजदूत स्वयम मेरा कार्य गतिविधि निरीक्षण गर्न आउनु भो । त्रिभुवन विश्वविद्यालय अन्तरगतको हाम्रो व्यावहारिक अनुसन्धान केन्द्रमा ।
यसरी आउने पाहुनाहरुमध्ये एक हुनुहुन्थ्यो भक्तपुर विकास परियोजनाका एक अधिकृत पाउल उहाँको पूरा नाम अहिले मलाई याद भएन । पाउल जर्मन सरकारको सहयोगमा सञ्चालित भक्तपुर विकास परियोजनामा इनर्जी सेक्टरमा कार्यरत हुनुहुन्थ्यो र उहाँ अत्यन्तै मृदुभाषी र भलादमी हुनुहुन्थ्यो । हाम्रो कामबाट उहाँ धेरै प्रभावित हुनुभएको थियो र हामीलाई उहाँ आफ्नो परियोजनामा लान चाहनुहुन्थ्यो जसरी पनि । उहाँले बारम्बार प्रस्ताव पनि गर्नु भो हामी दुवैलाई भक्तपुर विकास परियोजनामा काम गर्न आउन । तर आफ्नो केन्द्रमै राम्ररी काम भैरहेकोमा हामी सन्तुष्ट थियौँ र त्यसकारण हामीले भक्तपुर जाने कुरा गरेनौँ । तर दैव संजोग हाम्रो केन्द्रमा एक दिन एउटा अप्रिय घटना घट्न गयो र हामी दुवैजना भक्तपुर विकास परियोजनामा काम गर्न जान राजी भयौँ ।
क्रमश ः.....
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


0 Comments
Thanks for your concerns