साँखु÷गत वैशाख ५ शनिबार सहकाल ल्याउने देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको मूर्ती शुक्रबार बुङमतीस्थित मत्स्येन्द्रबहालमा लगि प्राणप्रतिष्ठा गराई दसकर्म संस्कार सम्पन्न गरिएको छ ।
दसकर्ममा नारी र पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेलविवाह), गुफा राख्ने, जन्कु (बुढा पास्नी) लगायतका संस्कार पर्छन् । नाम संस्कार गर्दा जनै र टुप्पी धारण गरेका मत्स्येन्द्रनाथको नामकरण ’श्रीश्रीश्री आर्याअवलोकितेश्वर’ राखिएको पानेजु कमलराजले बताए ।
मूर्तिको आँखा खोल्ने काम लिच्छवि राजा नरेन्द्रदेवका कान्छा छोराका सन्तान सीताराम साँगामीले गरेका थिए । उनी भक्तपुरदेखि राजखड्ग बोकेर राजकीय सम्मानका साथ बुङमतीस्थित मत्स्येन्द्रबहाल पुगेका थिए ।
मूर्तिको रङरोगन सकिएपछि आँखा खोल्ने काम राजा नरेन्द्रदेवकै हातबाट भए राम्रो हुने भएकाले उनलाई बोलाउनुपर्ने भनी दिएको सल्लाह पाटनका तत्कालीन राजाले मानेकाले राजा नरेन्द्रदेवलाई बोलाएका थिए ।
किम्बदन्ती अनुसार नरेन्द्रदेवले उनका कान्छा छोरालाई पठाएकाले अहिलेसम्म उनकै सन्तानलाई बोलाउने परम्परा रहेको हो । त्यसै परम्पराअनुरूप सीताराम साँगामीलाई बोलाउन राष्ट्रपति डा. रामवरण यादवको नामबाट निमन्त्रणा पत्र पठाइएको गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताए ।
परम्परा अनुसार गत चैत्र कृष्ण प्रतिपदाका दिन त्यसै बहालमा महास्नान गराइसकेपछि नेम्कुल आई मूर्तिलाई ’लँपुँ छायगु’ भनी म्हैपीबाट ल्याइएको माटोले मूर्तिको कलेवर फेर्ने, रङरोगन आदि गरिएको थियो ।
यस वर्ष बाह्रवर्षे मेला परेकाले आगामी आइतबार मत्स्येन्द्रबहाल पछाडि इखाटोलसम्म खटमा राखी बाजागाजासाथ बोकेर लगी रथारोहण गराइन्छ र त्यसको चौथो दिनदेखि रथ यात्रा सुरु गरिन्छ ।
नेवार राजाकै सन्तानले अहिलेसम्म पनि राजखड्ग बोकेर राजकीय सम्मानका साथ देवी देवताको काम गरेका यस्ता उदाहरण अन्य ठाउँमा पनि हुनुपर्दछ । यतातर्फ नेवार अगुवाहरुले सोच्नु पर्ने देखिन्छ । नेवार समुदायका अगुवाहरुले साँस्कृतिक राजाका रुपमा पुराना राजाका सन्तानहरुलाई प्रयोग गर्ने हो भने राजतन्त्र पुनः फर्काउनु आवश्यक नहुने धारणा समेत केही प्रबुद्ध बुद्धिजीवीहरुले राखेका छन् ।
0 Comments
Thanks for your concerns