– कृशु श्रेष्ठ –
लावण्य/साँखु । मुलुकका प्रमुख राजनीतिक दल यतिबेला महाधिवेशनको संघारमा छन् ।
महाधिवेशनमात्रै होइन अर्ली इलेक्सन र स्थानीय तहको निर्वाचनको तयारी पनि रसबै राजनैतिक दलहरुले सँगसँगै गरिरहेका छन् । एक अर्काका सभा तथा देशभरको दौडधुपले यस्तै संकेत गरेको छ ।
राजनीतिक दलका शीर्ष नेता होऊन् या दोस्रो, तेस्रो पुस्ताका नेताहरु जो सुकै होउन् उनीहरुको अभिव्यक्तिले चुनावी प्रचारको झल्को दिइरहेको छ ।
प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अघिल्लो सातामात्रै दुईदिन गृह जिल्ला झापामा पुगेर व्यस्त भए । सोमबार मात्रै उनी दुई दिनका लागि पार्टीको महाधिवेशनस्थल चितवन भ्रमणमा निस्किए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि केही दिन चितवनलगायतका जिल्लामा व्यस्त भए ।
त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन पोखरालगायतका जिल्लामा निस्किए । उनी पश्चिमका केही जिल्लामा पुगे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपत्यका बाहिरका जिल्लाको दौडधुपमा छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि काठमाडौं बाहिरै दौडधुप गरिरहेका छन् ।
त्यसो त दलहरुलाई यतिबेला महाधिवेशनले छोपेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले महाधिवेशनको संघारमा छ भने नेकपा माओवादी केन्द्रले पनि पुसमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।
महाधिवेशनले पनि चुनावको प्रचारमा सहजता थपेको छ ।
गठबन्धनका नेताहरु गठबन्धनलाई चुनावैसम्म कायम राख्ने उद्घोष गरिरहेका छन् तर गठबन्धनभित्रै भने यसको तीव्र विरोध भइरहेको छ । विशेषगरी कांग्रेसले चुनावमा पनि गठबन्धनको उमेदवार बनाउँदा पार्टीलाई क्षति पुगेको भन्दै यसको विरोध गरिरहेको छ । दोस्रो तहका नेताहरुले कुनै पनि हालतमा चुनावमा कसैसँग गठबन्धन गर्न नहुने धारणा राख्दै आएका छन् ।
एमालेका नेताहरु चुनावमा एक्लै अघिल्लो निर्वाचनको भन्दा बढी मत ल्याउने जिकिर गरिरहेका छन् ।
राजेन्द्र महतो बज्रयोगिनीमा
यसै बीच लोसपा नेता राजेन्द्र महतो राजनैतिक भेटघाटसँगै बज्रयोगिनीको दर्शन गर्न यही कार्तिक २१ गते आईतबार साँखु आउनुभएको खबर प्राप्त भएको छ ।
ओली भर्सेस् प्रचण्ड र नेपाल
देश दौडाहाका क्रममा शीर्ष नेताहरुको भाषणको अधिकांश समय आरोप प्रत्यारोपले पाउने गर्दछ । ओली र प्रचण्ड–नेपालको जुहारी नै चल्ने गरेको छ ।
दुई ठूला कम्युनिस्ट घटकबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल हाल अस्तित्वमा छैन ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कियो । एमाले पनि विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । अर्थात् हाल उक्त दल तीनवटा दलमा रुपान्तरण भएको छ ।
ओली नेपाल र प्रचण्ड हाल फरक फरक दलका अध्यक्ष छन् । तर, उनीहरुबीचको आरोप प्रत्यारोप नेकपा विवाद उत्कर्षमा पुगेर दुई समूहमा विभाजित भएको समयको जस्तै देखिन्छ । तत्कालीन नेकपामा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको थियो । हाल ओली प्रतिपक्षमा छन् भने प्रचण्ड र नेपाल सत्तामा छन् । फरक फरक दल हुँदा पनि प्रचण्ड र नेपालबीच भने हार्दिकता नै देखिन्छ ।
दुवै दलका अध्यक्षको तारो ओली बनेका छन् भने उनको तारो प्रचण्ड–नेपाल । नेताहरु एकअर्काप्रति ‘निम्छरो’ भाषासमेत प्रयोग गरेको भन्दै आलोचना पनि हुँदै आएको छ ।
ओली नेपाली कांग्रेसप्रति त्यति आक्रामक देखिँदैनन् । त्यसो त एमाले र कांग्रेसले एकअर्कालाई प्रतिष्पर्धीको रुपमा मान्छन् ।
प्रतिपक्षमा रहेको एमाले पार्टी विभाजनको असरको परिणामस्वरुप सरकारको आलोचना वा प्रतिपक्षीको भूमिकामा भन्दा पनि प्रचण्ड र नेपालमाथिको गालीगलौजमा नै हराउने गरेका छन् ।
राजनीतिक विश्लेषक सोमत घिमिरे पार्टी विभाजनको असरका कारण नेताहरु आरोप प्रत्यारोपमा उत्रिएको बताउँछन् ।
वैचारिक बहस हुन छाडेकाले पनि व्यक्तिगत आक्षेपमा नेताहरु रुमल्लिएको उनको विश्लेषण छ ।
“एउटा त पार्टी विभाजनको असर हो । मुख्य कुरा विचारमा बहस हुनुपर्ने हो । तर, वैचारिक छलफल हुन छाडेपछि गाली व्यक्तिगत रुपमा नै जाँदो रहेछ,” उहाँको स्पष्टोक्ति थियो ।
“ओलीको तिखोसँग बोल्ने शैलीले त्यसलाई सहजीकरण गर्यो । अलिक असहिष्णुजस्तो पनि देखिन्छ । गालीगलौज सबैले गरेका छन् । तर, त्यसको अग्रसरता ओलीले लिएको जस्तो देखिन्छ,” घिमिरे बताउँछन् ।
वाहवाहीका लागि नेताहरु व्यक्तिगत आक्षेपमा हराएको र त्यसले समाजलाई हानि पुर्याउने उनी बताउँछन् ।
“कार्यकर्ता तहमा जसले बढी गालीगलौज गर्न सक्यो उ नेता नै खम्बाजस्तो । अपशब्द बोल्न सक्यो उ नै नेता जस्तो हुन थाल्यो,” उनको भनाइ छ, “वाहवाही र मास पपुलारिजमका लागि यसो गरिरहेका छन् । यसले समाजलाई तलसम्म धुव्र्रीकरण गर्छ । फाइदा पु¥याउँदैन ।”
0 Comments
Thanks for your concerns