केशव खड्का “साँखुको”
काकेश्वर शिवमन्दिर गागलफेदी गाविस वडा नं. ७ को उच्च पहाडि भाग उत्तरतर्फ शिवपुरी वन्यजन्तु आरक्ष नजिकै पर्दछ । बागमती नदीको पूवतर्फ महादेव खोलाको मुहान हो यस काकेश्वर शिव मन्दिरभन्दा माथि आवादी जग्गा छ भने मन्दिर छहरा बीचमा ओडारभित्र शिवलिङ्ग र काग प्रष्टरुपले देख्न सकिन्छ । सुनको काग भने भाद्र शुक्ल अष्टमी (कागेअष्टमी), राधा अष्टमीका दिन मात्र त्यस स्थानमा देख्न सकिन्छ ।
प्राचिन शैलीमा निर्मित यस शिवलिङ्ग देखी पूर्व पश्चिम उत्तर तीन तिर हरियाली वन वृक्ष बुट्यान शिवपुरी लेकको कैलाश पर्वत देखिन्छ । पूर्वतर्फ जंगलमा दुईटा धर्मशाला निर्मित छ । दक्षिण तर्फ वागमतीको रमणीय फाँट मनोहरा, चाँगुनारायणसम्म र गागलफेदी, भद्रबास, आलापोट, जोरपाटी, गोकर्ण, नयाँपाटी, सुन्दरीजल गाविसको रमणीय दृश्य देख्न सकिन्छ । काकेश्वरमा भाद्र शुक्ल अष्टमी, राधा अष्टमीमा विशेष पर्व पूजा हुने हुँदा बहुत ठूलो भक्तजनहरुको भीड लाग्ने गर्दछ । यस मनिदरमा आलापोटबाट ठाडो उकालोको बाटो पौराणिक छ भने आधुनिक मोटरबाटो गागलफेदीको वडा नं. २ ढाडको थापागाउँबाट गागलजाने बाटोबाट मोटरसाईकलमा जान सकिन्छ ।
काकेश्वरको वर्णन स्कन्द पुराण हिमवतखण्ड ११९ अध्यायमा वर्णित छ । हाल काकेश्वर महादेवका पूजारी रामेश्वर चालिसे हुनुहुन्छ ।
“अतरचोध्र्वहदे रम्य तत्र तिष्ठती शंकर
त्रैलोक्यं मायया मांच समुह्य खलु निज्र्जन”
काकेश्वरको झरना चारतल्लाको छ र यो झरना चारै दिशामा फर्किएर झर्ने गरेको देखिन्छ । झरनाभन्दा अलि तल एक कुण्ड छ जसलाई पार्वती मानेर पूजा गरिन्छ ।
पौराणिक कथन अनुसार कागहरुको राजा कागभुसुण्डीले तपस्या गरेको स्थान हो भने काग भुसुण्डीले राम कथा गरुडलाई मुस्ताङ्ग जिल्लाको तिलिचो तालमा सुनाएका थिए । यो ठाउा संसारकै उच्च स्थानमा रहेको तालको रुपमा लिइन्छ ।
काकेश्वरमा सुनको काग छ ? ऐतिहासिक पृष्ठभूमी अनुसार काकेश्वरमा सुनको काग छ या छैन, यो अनुसन्धानको विषय हो । मैले जाने बुझे सम्म राधा अष्टमीको दिन काकेश्वर महादेव मन्दिरभित्र पहेँलो धातुको सानो बच्चा काग जत्रो एउटा काग राखेर पूजा गर्ने गरेको देखिन्थ्यो । यो सम्बन्धमा मैले ४० को दशकमा कागेश्वरी मन्दिरमा चन्दा माग्नेक्रममा चार पाँच वर्ष बिताएँ । त्यो समयसम्म राम्रोसँग प्रष्ट देखेको थिएँ तर आज २०६९ साल असोज ७ गते कागेअष्टमीका दिन बाहिर राखेर पूजा गरेको काग र ४० को दशकमा हेरेको काग एउटै हो कि होईन भन्न कठिन भयो । अहिले देखेको काग पखेटा र भुत्ला झरेर उड्न नसक्ने करङ्ग देखिएको भूँडी बाहिर फालिएको एकदम खोक्रो र थोत्रो एवं नराम्रो लाग्यो । यतातर्फ गुठी संस्थान एवं सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ । सम्भवतः सुनको कागको मूर्ति प्रतिस्थापित गरिएको हुनुपर्छ । मूर्ति प्रतिस्थापित गरिए पनि जिर्ण भएपछि मर्मत एवं नयाँ फेर्ने कार्य गर्नु जरुरी भैसकेको छ ।
काकेश्वरी मन्दिरको प्रबन्धको लागि के कस्तो गुठी छ ? सो बारे अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ । काकेश्वरी मन्दिरका पूजारीका विषयमा खोजवीन गर्दा ढकाल थरका राम पूजारी र उनका छोरा गोविन्द प्रसाद ढकालको ७ पुस्ताले काकेश्वर महादेव दैनिक पूजा आजा गर्ने गरेको बुझिएको छ । गोविन्द प्रसाद ढकालले ३ वर्ष काकेश्वरीको पूजारी भएर काम गरे वापत मासिक रु. ७ सय गागलफेदी गाविसले उपलब्ध गराएको थियो । पछि उनले विभिन्न कारणवश छोडेपछि हाल दुई वर्ष देखि भोर्लेटारका रामेश्वर चालिसेलाई मासिक रु. ३ हजार दिने शर्तमा पूजारी नियुक्ति गरि पूजाआजा गराउँदै आएको छ । उहाँको कथन अनुसार गुठी संस्थानको रोहबरमा गाविसले उनलाई बुझाएको काग यही हो । काग तामाको हो वा सुनको या पित्तलको हो उनलाई केही थाहा छैन । यो कति पुरानो हो त्यो पनि थाहा छैन । एउटा खुट्टा भाँच्चिएकोले उनले बाँधेर राखेको छन् ।
ऐतिहासिक धरोहर काकेश्वरी मन्दिरको कागको जिर्णोद्धार मात्रै हैन पुननिर्माण नै गर्नुपर्ने अवस्था छ । सम्बन्धित निकाय गुठी संस्थान वा गाविसले आवश्यक समिति निर्माण गरेर चन्दादाताबाट नै सहयोग लिएरै भएपनि कागको पुननिर्माण गर्नु वाञ्छनीय छ । यस वर्ष काकेश्वरी मेला समितिको नाममा मेला सञ्चालन, सम्वद्र्धन एवं स्वयम् सेवा गरेको पाईएको छ । उनीहरुले त्यहाँ मन्दिरमा यस वर्ष करिब २० हजार भेटी भित्रिएको जानकारी गराएका छन् । सो भेटी पूजारीकै लागि भएको समेत उहाँहरुले जानकारी दिएका छन् । यसले के कुरा देखाएको छ भने स्थानीय युवाहरु मन्दिर संरक्षणमा जागरुक छन् । तर उनीहरुलाई आवश्यक कुरा बुझाईदिने व्यक्तिहरु त्यहाँ छैनन् । त्यसैले काकेश्वरी मन्दिरको निर्माणको लागि त्यहाँ सधैँ सञ्चालनमा रहने गरि एउटा समिति निर्माण गरेर काम गरेमा सजिलो हुनेछ । समितिले दर्शनार्थी र पूजारी एवं मन्दिरको संरक्षणको लागि सहयोग गरेकोमा धन्यवाद नदिईरहन सकिन्न ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns