पौष्टिक एवं स्वादिलो क्वाँटी
परिचय ः आउँदो विहिबार रक्षाबन्धन, जनैपूर्णिमा अर्थात् क्वाँती खाने दिन । नेपाली समाजमा जनैपूर्णिमाको िदन क्वाँटी खाने चलन छ । विशेषगरी नेवार समुदायले सुरु गरेको यो पर्व अहिले अन्य जातजातिकाहरुले समेत मनाउने गर्दछन् । अझ क्वाँटी त जस कसैले पनि दालको रुपमा अन्य दिनहरुमा समेत खाने गर्दछन् । गेडागुडीको मिश्रणलाई क्वाँटी भनिन्छ । यसमा खैरो चना, हरियो केराउ, सेतो केराउ, सानो केराउ, सिमी, बोडी, मुँग दाल, मासको गेडा, राजमा, मस्याङ, सेतो भटमास र सेतो चना मिसाईन्छ । यसमा विशेष गरि नेवार समुदायले कम्तीमा पनि ९ थरि गेडागुडी मिसाउँछन् भने अन्य केही थप गेडागुडीहरु आवश्यकता अनुसार मिसाइन्छन् । चलन अनुसार ९ थरि गेडागुडी मिसिएको पौष्टिक पदार्थलाई मात्रै क्वाँटी भनिने गरिन्छ । क्वाँटी जनैपूर्णिमामा मात्रै हैन पञ्चदान चह्रेमा समेत खाने चलन छ । जनैपूर्णिमामा खाने क्वाँटी पकाउनेदेखि उमार्ने तरिकासमेत विशेष प्रकारको छ । सही तरिकाले क्वाँटी बनाएर खानको लागि यसपटक तपाइँहरुसमक्ष क्वाँटी पकाउने र उमार्ने तरिका प्रश्तुत गरिएको छ ।
सामग्री ः क्वाँटी, गरम मसला, तेल, ज्वानोको गेडा, मेथी, तेजपात, नुन, बेसार, धुलो जिरा, धुलो खुर्सानी र आवश्यक मरमसला एवं पकाउने भाँडो ।
पकाउने तरिका ः पे्रसर कुकरमा तेल तताउनुपर्छ । त्यसपछि गरम मसला, तेजपात, अलि धेरै ज्वानोको गेडा र मेथी तताउने । कालो भएपछि प्याज भुट्ने । प्याज रातो भएपछि क्वाँटी हालेर मज्जाले भुट्ने । त्यसपछि जिराको धुलो र खुर्सानीको धुलो हालेर दुई मिनेटजति फेरि भुट्नुपर्छ । अब परिवारको संख्या अनुसार सुपका लागि पानी हालेर स्वाद अनुसारको नु हाली पे्रसरकुकरको बिर्को बन्द गर्नुपर्छ । ६ सिट्ठी लागेपछि क्वाँटी पाक्छ र खानका लागि तयार हुन्छ । त्यसरी पाकेको क्वाँटी खाना र खाजासँग खान सकिन्छ । क्वाँटीको सुप पनि खान सकिन्छ । मेहनतका साथ तयार गरिएको यो पौष्टिक तत्वले भरिपूर्ण र स्वादिलो हुन्छ । साथै यसले शरीरभित्र गडेर रहेको चिसोलार्य पनि बाहिर निकाल्छ । त्यसैले वर्षायाममा पर्ने पर्व जनैपूर्णिमामा क्वाँटी खाने चलन चलेको हो ।
मासु हालेको क्वाँटी ः क्वाँटीमा मासु हालेर पनि पकाउन सकिन्छ । प्याज भुटिसकेपछि मासु हाल्नुपर्छ । केही समय भुटिसकेपछि मात्र क्वाँटी हाल्नुपर्छ । आवश्यकताअनुसार नुन, मसला र पानी हालेर बनाएको क्वाँटी मांसाहारीले खुबै रुचाउँछन् ।
क्वाँटी उमार्ने तरिका ः जनैपूणिमाभन्दा चार दिन अघि पानीमा यी सबै गेडागुडीको मिश्रणलाई भिजाउने । राम्रोसँग भिजाउन मिश्राण र पानी हालेको भाँडोमा एउटा काँचो आलु पनि हाल्ने । गेडागुडीको मिश्रण एक रात भिजेपछि जाली ढक्कीमा गेडागुडीलाई उतार्ने । राम्रोसँग पानी तैरिएपछि सेता मलमलको कपडामा क्वाँटी हाली बाँधेर हावा आउने ठाउँमा झुण्ड्याउने । बाँधेर मात्र राख्दा गुम्सन सक्ने र गन्हाउने खतरा रहेकाले हरेक साँझ क्वाँटीको पोको खोली पानीले पखाल्दै पानी तै¥याएर झुण्ड्याउनुपर्छ । पखाल्दा हल्का हातले पखाल्नुपर्छ । किनभने जथाभावी पखाल्दा टुसा भाँचिन सक्छ । भाँडोमा उमारेको भन्दा मलमलको कपडामा बाँधेर राखेको क्वाँटी छिटो उम्रिन्छ । टुसा उमारेको क्वाँटीमा प्रोटिन, मिनरलका साथै भिटामिनको मात्रा अत्यधिक हुन्छ ।

0 Comments
Thanks for your concerns