गथांमुगः र घण्टाकर्ण पर्व एउटै होइन !




लावण्य/साँखु । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।

परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा कोही मरे, लाशलाई सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परीवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो र रोपाँइ सकी सके पछि मात्र शतगति काजक्रिया गरिन्थ्यो रे ! यस रोपाइँ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां (मरेर) ज्याः (काम) अर्थात मरी मरीकन गर्नु पर्ने काम भनिन्छ ।

किसानी गर्नु भनेको साधारण काम होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम हो । तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चर्ढाई यो काम फत्ते गर्नु पर्दथ्यो, अनि त्यस्ता मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकीन्थ्यो । सिन्हा ज्याः सकिए पछि यी भूतहरुलाई बर्षभरी खाना खुवाइ पाल्न त असम्भब प्रायः थियो । यसै कारणले भूतलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चह्रे गथांमुगः चह्रेको दिन तान्त्रोक्तबिधि पूर्वक भगाईन्छ ।

गथांमुग पर्व भोलि मनाईँदै

यस वर्षको गथांमुग पर्व श्रावण १० गते परेको छ । यस दिन नेवार समुदायले आफ्नो मूख्य कृषि वाली धान रोप्ने कार्य सकिएको अवसरमा विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।

साँखुमा यस दिन बिहान सबेरै पुखुलाछी टोलस्थित पोखरीमा गएर सर्वसाधारणले नुहाउँछन् । उक्त पोखरीमा नुहाएपछि रोग व्याधी निको हुने विश्वास गरिन्छ । साथै स–साना बच्चाहरुले रोएर दुःख दिने (अरिं) पनि निको हुने विश्वास गरिन्छ ।

उक्त पर्वकोलागि अघिल्लै दिन घर घरमा लिपपोत गरि सुद्ध गरिन्छ । सो दिन नेवार समुदायले सिन्हाज्या ब्यंकिगु अर्थात रोपाईँको समापन गरिने चलन छ । उक्त दिन पछि रोपाइँ गर्ने चलन हुँदैन । घर घरमा भूतबाट बच्नको लागि गोबरको प्रतिक बनाएर कोठा र घरको ढोकाहरुमा लगाउनुका साथै छ्वालीको मुट्ठामा सिस्नो, छासिकचाः, अबिर काँडा आदि राखेर छ्वालीलाई बालेर घरको कुना कुना र कोठा र मूल ढोकामा समेत दिप दिएजस्तै गरि छ्वालीलाई घुमाएर नजिकैको घण्टाकर्ण बनाइराखेको चोकमा लगि बिसर्जन गरिन्छ । यसरी आफ्नो चोकका सबैले छ्वाली बिसर्जन गरिसकेपछि घण्टाकर्णलाई घिसार्दै पिट्दै भूत भगाएको मानिन्दै साँखु नगरको ढोका बाहिर लगेर फ्याँकिन्छ । त्यसपछि घण्टाकर्णलाई घिसार्ने र पिट्नेहरु सबै पुखलाछी र साल्खा महादेवस्थानको पोखरीमा गई नुहाई धुवाई गरेर आ–आफ्नो घर जाने चलन छ ।

यस दिन साँखुमा कोलागाल नजिकैको डाँडामा खेत भएकाहरुले नागचापाखमा नाग सहितको देवतालाई पूजा गर्ने प्रचलन रहेको छ ।

साथै यस दिन नेवार कन्याहरुले हातमा मेहेन्दी लगाउने पनि गर्दछन् ।

Post a Comment

0 Comments