साँखु (शंखरापुर) शंखधर साख्वा र नेपाल सम्वत





– अमृतानन्द बज्राचार्य –

नेपाल मण्डलको उत्पत्ति हुनुभन्दा अगाडि यस स्थान एक कालीनाग दहको रुपमा रहेको हामी विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाउँछौँ । यस दहलाई बोधिसत्व श्री महामञ्जुश्रीद्वारा आफ्नो खड्गहासको माध्यमबाट छेदन गरी यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए र आफुसँगै ल्याएका शिष्य धर्मादित्यलाई राज्याभिषेक गरी आफु फेरी महाचीनतर्फ प्रस्थान भए भनेर विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको हामी पाउँछौँ ।

नेपाल मण्डलको प्राचिन नगर साँखुलाई स्थानीय नेपाल भाषामा “सक्व दे” भनिन्छ । जसको अर्थ “सँ देया क्वे” यानी ल्हासा मुनिको देश भनेर बुझिन्छ जुन कालान्तरमा सक्वो हुँदै साँखुमा अपभ्रंश भएको हामी पाउँछौँ । । एक शताव्दी अगाडिसम्म पनि यस स्थान ल्हासासम्मको व्यापारका लागि यौटा महत्वपूर्ण केन्द्र हुने गर्दथ्यो । त्यस समय यहाँका नेवार समुदायको व्यापार र कारोबार धेरैजसो ल्हासामा हुन्थ्यो । यस स्थानलाई कालखण्ड अनुसार भद्रकल्पको कालमा महाचिन, स्वस्थानी व्रतकथामा सांकेतु नगर र मणिशैल महावदानमा शंखरापुर नगर पनि भन्ने गरेको देखिन्छ । मणिशैल महावदान अनुसार कलिगत सम्वत् १८०१ वा आजभन्दा ३२०८ वर्ष अगाडि उग्रतारा बज्रयोगिनी देवीको नवौँ पुजारी जोगदेव बज्राचार्यबाट श्री भवानीको प्रत्यक्ष दर्शन र संवाद भएको र यस नगरको स्थापना गरिएको भनी यस मणिशैल महावदानमा र यहाँ भएका विभिन्न शिलापत्र, ताम्रपत्र, धार्मिक ग्रन्थ र हस्तलिखित पुस्तिकामा उल्लेख भएको देखिन्छ ।

यस शंखरापुर नगर कलिगत सम्वत १८०१ मा स्थापना भईसकेपछि कलिगत सम्वत ३४०० मा ललितपुर राजा विरदेवबाट स्थापना भएको देखिन्छ भने गुणकामदेवबाट कान्तिपुर नगर खड्गको आकारबाट बनाइयो । यस क्षेत्रमा देशको विभिन्न ठाउँमा अष्टमात्रिका देवीहरु स्थापना गरियो । त्यस्तै गरी भक्तपुर, किर्तिपुर आदि पनि निर्माण भयो । यस प्रकारले कालान्तरमा यस उपत्यकाले नेपाल मण्डलको स्वरुप पाएको देखिन्छ । यस ठाउँमा विभिन्न स्थानबाट ऋषिमुनि, व्यापारी, सन्त महात्मा आउने क्रम बढ्दै गयो र आफ्नो आफ्नो किसिमसँग बसोबास र रहनसहन गर्न थाले । यसै प्रकारले शासकहरुले आ–आफ्नो शासनकालमा विभिन्न सम्वतहरु पनि स्थापना गरेको हामीले विभिन्न ग्रन्थहरुमा उल्लेख भएको देख्न र सुन्न पाउँछौँ । तर नेपाल मण्डलको नेपाल खाल्डोमा एक यस्तो सम्वत् पनि चल्यो जुन सम्वत एक सर्वसाधारण जनताको तर्फबाट स्थापित भयो । नेपाल मण्डलको नाममा स्थापना भएको “नेपाल सम्वत” यस क्षेत्रमा बस्ने सबै प्रजाको ऋण मुक्त गरी लेखिएका ऋण तमसुकको आधारमा सबै प्रजाको ऋण मुक्त गरी शंखधर साख्वाबाट शंखधरकृत नेपाल सम्वत भनी राजा जय राघवदेवको पालामा स्थापना भयो । यस सम्वतलाई नेपाल देशको आराध्यदेव पशुपतिनाथको समीपमा त्यहाँको पूजारी भट्टाकर समक्ष सारा तमसुकसमेत चढाइयो ।

अब प्रश्न आउँछ, यी शंखधर को थिए ? कहाँबाट आएका थिए ? कसरी को सँग सम्बन्ध रहेको र के–के गरेका थिए भन्ने प्रश्नको उत्तर ईतिहासमा प्रष्ट उल्लेख नभएको कारण यहाँ केही तर्क र तथ्यहरु प्रस्तुत गरिएको छ ।

सर्वप्रथम शंखधर नामको विश्लेषण गर्नुपर्दा हामी शंखको माला लगाएको वा शंख बोकेको व्यक्ति भनि बुझ्छौँ । परन्तु शंखधर नाम भएको व्यक्तिले सधैँ शंख मात्र लिएर हिँडेको वा शंख धारण गरेको नै हुनु पर्दछ भन्ने कुरा जरुरी छैन । यो एक नाम मात्र हो । नाम अनुसार काम हुनु नै पर्छ भन्ने पनि छैन । जस्तै बहादुर नाम भएको व्यक्ति काँतर पनि हुनसक्छ र सुन्दर नाम भएको व्यक्ति कुरुप पनि हुन सक्छ । यी नामहरु कुनै व्यक्ति विशेषलाई सम्बोधन गर्न दिईएको संज्ञा मात्र हो । तर ऐतिहासिक व्यक्तित्व शंखधरलाई सधैँ शंख हातमा समातिएको चित्रण गरिएको हुन्छ । यो संकेत गहिरो अनुसन्धानको विषय हुन सक्दछ ।

शंखधर साख्वाले नेपाल मण्डलको कान्तिपुर नगरमा आउनको निम्ति यहाँका डाँडाहरु, जामाच्व, सिपच्व, फःच्व र धिनाच्व अनि शंखच्व यी यति  क्षेत्रबाट आएको हुनुपर्दछ । त्यसकारण यो महान कार्य गरिसकेपछि मात्र उहाँले यो नाम राखेको हुनुपर्दछ । यसरी म यस शंखच्वपबाट आएको हुँ, मेरो जन्मथलो शंखरापुर हो भनी आफ्नो पहिचान गर्नको लागि यो शंख प्रतिकको रुपमा आफ्नो छाती अगाडि राखेको हुनुपर्दछ ।

यस शंखच्व क्षेत्र नै हो, जुन ठाउँमा मणिचुड राजाले राज्य भोग गरेका थिए । यो कथा नेपाल मण्डलबासीहरुको जनजिब्रोमा मणिचुड राजाको कथा भनि प्रख्यात छ, जुन कथामा मणिचुड राजाले जनहितका लागि आफ्नो शीरको मणिदान गरेका थिए ।

यसै किसिमले कान्पिुरस्थित सिंह सत्तल, झोछेँ, ओमबहाल, ब्रम्हटोलस्थित मणिसिंह महाविहार, मणिसंघ महाविहार, तक्षेबहाल, झ्वाबहाल आदि ठाउँहरुमा साँखुका बासिन्दाहरु बसोबास गरेका धेरै प्रमाणहरु भेटिन्छन् । जस्तै बसन्तपुरको उत्तरपट्टी झोछेँ भन्ने ठाउँ पहिला पहिला “सक्व छेँ” भन्ने चलन थियो । यसको अपभ्रंश भई “झोछेँ” भएको हो ।

यसै प्रकारले कुमारी घरसँगै सिंखोमुवहाल भन्ने ठाउँमा पनि साँखुको एक परिवार बज्राचार्य कव (परिवार) नै छ भनिन्छ । यही परिवारको एक व्यक्तिबाट सिंहसत्तल बनाएको भने सोही बहालको कुलपुत्र यज्ञमान पति बज्राचार्यबाट आफ्नो अनुसन्धानात्मक पुस्तक “नेपाया पूर्वाचार्य लीलाबज्र बज्राचार्य” लिलाबज्र साँखु क्षेत्रबाट आएको व्यक्ति हुन् भनि अनुसन्धान गर्नुभएको छ ।

यसै प्रकारले शंखधर साख्वा पनि सिंहसत्तलको दक्षिणतिर भीमसेन स्थानमा बस्नुभएको थियो भनिन्छ । यसरी सिंहसत्तलको दक्षिणतिर भीमसेन टोलको उत्तरतिर “ईलाछेँ” टोलमा बस्नुभएका शंखधर साख्वा पनि साँखु देशको कुलपुत्र हो कि भन्ने कुरा विचारणीय हुन आउँछ किनभने यस क्षेत्रमा उहाँको कुनै किसिमको पारिवारिक प्रमाण भेटिँदैन । फेरि शंखधर साख्वाले आफ्नो अन्तिम घडी पशुपति आर्यघाटतिर बसी आफ्नो दह त्याग गर्नुभयो भनी उल्लेख गरिराखेको लिखित प्रमाण पाइन्छन् । यस इलाछेँ टोलमा एक पाटी मात्र यहाँ भेटिन्छ । यो उहाँको घर अवश्य होइन होला । शंखरापुर नगरका व्यक्तिहरु विभिन्न ठाउँमा व्यापारको लागि जाने गर्दछन् । यस कुराको प्रमाणस्वरुप श्री बज्रयोगिनीको पूजारीहरुमा जेठो छोरा मात्र यहाँ बस्ने गरेको बज्राचार्यहरु वंश वृक्षमा उल्लेखित भएको देख्न सकिन्छ ।

यस्तै गरेर मणिशैल पर्वतको क्षेत्रबाट आउनुभएका महा मञ्जुदेव यहाँको कुलपुत्र भनी उल्लेख भएको देखिन्छ । श्री उग्रतारा बज्रयोगिनी देवीलाई महाचिन तारा भनेर पनि सम्बोधन गरिन्छ । यसै महाचिन तारा खड्गयोगिनीको साधनाद्वारा शक्ति प्राप्त गरि मञ्जुदेवले चोभारको गल्छी छेदन गरेर यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए भनि विभिन्न ग्रन्थमा उल्लेख भएको पाईन्छ । यसै गरेर साँखुका बज्राचार्यहरुले मञ्जुदेव हाम्रो कुलपुत्र हो भन्ने गर्दछन् । यिनी हिन्दूस्थानको पनि होइन र चीनको पनि होइन बरु उहाँ साँखु बज्राचार्यहरुको पुर्खा हो । यसको पुष्टी कमरेड पुष्पलालबाट पनि आफ्नो एक पुस्तकमा उल्लेख गरेको पाइन्छ । मञ्जुदेवबाट यस बज्रयोगिनी क्षेत्रमा कुनै किसिमको आपत्ति परेको खण्डमा म सधेँ यहाँ उपस्थित हुनेछु भनि यहाँबाट आफ्ना दुई अर्घाङ्गिनी (श्रीमती)हरु साथ लिई तिब्बततर्फ गएका हुन् भनिन्छ ।

यसैगरी कान्तिपुर महानगरको मन्त्रसिद्धी महाविहारको कुलपुत्र रत्नकुलिस बज्राचार्यद्वारा रचित “चचा” राग “महामुजु श्री गुरु” लेखमा चोभारको गल्छी बज्रकर्ति शक्तिबाट छेदन गरी नेपाल मण्डल स्थापना गर्ने व्यक्ति पदमगिरी धर्मधातु महाविहारको कुलपुत्र हुन् भनी ३ सय वर्ष पहिले रचित रागमा पनि उल्लेख गरिएको पाइन्छ ।

कान्तिपुरका स्थानीय झ्वाबहालका बज्राचार्यहरु पनि साँखुबाट यहाँ आई न्हैकंतल्लाको उग्रतारा देवी स्थापना गर्ने बज्राचार्य रत्नकेतु बज्राचार्य हुन् भन्ने गरिन्छ । उनीहरु आफ्नो देवाली पूजा साँखुको स्वयम्भु जोगेश्वर धर्मधातुलाई मान्ने गर्दछन् । यी बज्राचार्यहरु मनकामना, गोकर्ण, देउपुर, मनमैजु, नुवाकोट भैरवसम्म पूजारी भइरहेका छन् । र दिवाली भनेर साँखु बज्रयोगिनीलाई पूजा गर्ने चलन आजसम्म पनि छ ।

यसैगरी साँखु आफ्नो पूर्खाँ भनी दावी गर्नेमा ठँहिटी टोलका मानन्धर परिवारहरु पनि छन् । यिनीहरुको आफ्नो परिवारको कुलपूजा, विवाह, व्रतवन्ध आदि पूजाको लागि सबैभन्दा पहिलो पूजा बज्रयोगिनी देवी साँखुलाई पूजा पन्छाउने कर्मकाण्ड गर्दछन् । उनीहरु आफ्नो पायक पर्ने बेला बज्रयोगिनी देवीको पूजा आराधना गर्ने गर्दछन् ।

साँखु बज्रयोगिनी देवीको जात्रा समापन गरी देवीलाई भित्र्याउने काम कान्तिपुरको ईतुम्बहालका शाक्य परिवारहरुबाट हुन्छ । यिनीहरुको बज्रयोगिनी देवीसँग गहिरो सम्बन्ध रहेको छ । त्यसैगरी नेपालको खुलाल गोत्र परिवार थापा, अधिकारी, पाण्डे, राणा आदिको कुलदेवता र ईष्ट देवता भनी आराधना गर्ने चलन रहेको छ ।

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वा र साँखु सँग सम्बन्धित केही प्रमाणहरु यस प्रकार रहेको छ ।

क) साँखुको टोलहरुमध्ये एक साल्खा टोल रहेको र सो टोलबासीहरु व्यापारमा अन्य टोलभन्दा अगाडि भएको र यिनीहरु नै ल्हासासम्म व्यापार गर्न जाने काम गर्दथे । यि टोलका बासिन्दाहरु “साख” हिसाब किताबमा निपुर्ण हुनुका साथै पैसा सापट दिने काम पनि गर्दछन् ।

ख) स्वस्थानी व्रतको अग्रभक्त साँवा परिवारहरुले माधवनारायणको सबै काम कार्य गर्ने र उनीहरु पनि यस क्षेत्रको सम्पन्न वर्गमा पर्दछन् । यी साँवाहरु नै साख्वाहरु हुन् कि भन्ने विषय सोचनीय छ ।

ग) यसैगरी साँखु र उपत्यकाका विभिन्न ठाउँ जस्तै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा, आदि क्षेत्रबाट ल्हासा गई सो ठाउँमा १० वटा बस्नका लागि सत्तलहरु बनाएका थिए जस मध्ये सबैभन्दा राम्रो र ठूलो साँखुलेहरुले बनाएका थिए । यसबाट पनि प्रमाणित हुन्छ कि साँखुका मानिसहरुबाट अन्त गई राम्रा राम्रा काम गरेको देखिन्छ ।

घ) बज्रयोगिनी परिषरमा पूर्णिमाको दिन एक पूजा हुन्छ, त्यसमा साख्वा मरी राखेर रोटी बज्रयोगिनीदेवीलाई चढाउने गर्दछन् । सायद यो पूजा नै शंखधर साख्वाको पूजा हो कि जस्तो पनि देखिन्छ । र सखाय् परिवारहरुले यहाँ बज्रयोगिनी मन्दिरमा धेरै गुठी र मर्मतको काम गरिन्छ । यो परिवारको पूर्खा त होईन ? यो अनुसन्धानको विषय हुनसक्छ ।

ङ) यसै किसिमले बज्रयोगिनी परिषदमा एउटा मात्र भएको बुद्धको शीर राखिएको छ । यस शीरलाई नै विक्रमादित्य टाउको भन्ने चलन छ । त्यो टाउको बुद्धको टाउको जस्तो देखिन्छ तर कुनै राजाको टाउको भन्न मिल्दैन ।

अ) यस शीरको माथिको भागमा टाउको माथि चुडामणि भएको

आ) बुद्धको जस्तो सानो घुमाउरो किसिमको रौँ भै चुडामणिसमेत थपेको शीर भएको । जस्तै शंखधर र साख्वाको वनी माथि रौँ को झुप्पा राखेको

इ) शान्तिको प्रतिक बुद्धको आँखा आधा भाग मात्र खोलेका जसलाई शान्तिको प्रतिकको रुपमा लिन सकिन्छ । शंखधर साख्वाको पनि इच्छा सब जनता शान्तिपूर्ण होस् ।

ई) कुनै किसिमको आभुषणहरु पहिरनमा नभएको र सो शीर यदि राजामहाराजको भएमा आभुषण हुनुपर्ने तर सो शीरमा केही नभएको कारण साधारणबुद्धको जस्तो देखिन्छ । उहाँले गर्नुभएको यस बज्रयोगिनी मन्दिरमा दान पारमिता अनुसार “पञ्चदान” मा राख्नुपर्ने दिपंकर आदि बुद्ध के उहाँको नै प्रतिमा होइन र जस्तै को महारानीले राखेको आर्य लोकेश्वरको मूर्ति जस्तै यो टाउको शंखधरबाट रोखेको हुन सक्दछ ।

उ) त्यससँगै एउटा घोप्ट्याई राखेको कराही पनि छ । जसलाई यहाँ पूजा र आराधना गर्छन् । यस्तै कराहीमा पञ्चदान गर्दा “पायस” खीर पकाउने गर्दछ । यो कुरा स्वयम कराहीले जवाफ दिइरहेको छ । यस कराही बारम्बार काम लिएको देखिन्छ ।

ऊ) सँगै स्वयम्भुको प्रतिक अनुसार चैत्य भगवान पनि भएको चैत्य, दिपंकर र थुसा (वृष) भएको ठाउँमा सम्यक पर्व वा पञ्चदान गर्नुपर्ने परम्परा छ ।

ए) त्यसैगरी, यज्ञशालाको रुपमा सधैँभरी आगो बालिराख्नुपर्ने अग्निकुण्ड ज्योति जुन पञ्चदान सम्यक दानमा देवताहरुलाई आव्हान गरी शान्तिवाचन गरि पूजा गरिन्छन् ।

ऐ) यसै कोठाभित्र एक ठूलो कराही यस कराहीले यस स्थानमा नेपाल मण्डलको पहिलो सम्यक महादान गरिएको भान हुन्छ । तर आजभोलि यस्तो सम्यकदान यहाँ भएको हैन सोही कारणले यस कराही घोप्ट्याई राखेको छ, जुन बेला गरिन्छ फेरि यसलाई मर्मत गरिन्छ ।

बौद्ध धर्म अनुसार तेस्रो पटकको महासंघायन भएको स्थान यस पद्मगिरी धर्मधातु महाविहार मानिन्छ । यसरी नेपाल मण्डलमा लुम्बिनीबाट आएका शाक्य गणहरुले विहार, महाविहार र विहीको बौद्ध धर्म अनुसार स्थापना गरेको मानिन्छ । यहाँ पछि नेपाल मण्डलमा विभिन्न ठाउँमा सम्यक महादान गर्ने परम्परा आएको देखिन्छ । त्यसबेलादेखि नै कान्तिपुरमा वर्षको एक चोटि सम्यक महादान गर्दै आइएको थियो । जस्तै इटुम्बहालको भुरुङ्गखेलमा लगनवहालको तःमहामा, भीमसेन स्थानको छ्वास पाखामा र प्युखा टोलको प्युखा अशोक चैत्य वहामा गरिँदै आँएको र श्री ५ पृथ्वीनारायण शाहको पालादेखि १२ वर्षको एकचोटी नेपालमा सम्यक महादान गर्ने परम्परा गरिएको देखिन्छ ।

नेपाल सम्वत ११२८ मा (विक्रम सम्वत २०६४ मंसिर ४ गते मंगलवार) कान्तिपुर पत्रिकामा नेपाल सम्वतको उठान भनि लेखक दीर्घराज प्रसाईले लेख्नुभएको एक लेखमा साँखुको विक्रमादित्य राजाको शीर भनि उहाँले सम्बन्धित पूजारीहरुबाट आएको लेख्नुभएको थियो तर सो पुजारीले थाहा नपाएर पहिलेको भन्दै  आएकोले भनेको होला र मैले थाहा पाएसम्म धेरै वर्ष अगाडि मैले एक पुस्तक हेरेको छु, त्यो पुस्तक हो, “तोता मैनाका किस्सा” । यस पुस्तकमा हुबहु मिल्नेजस्तो गरी यसमा लेखिएको रहेछ । जसमा विक्रमादित्यको शीर कराही र कालिदेवी र काठमाडौँबाट पूर्व उत्तर कुनामा अवस्थित एक गाउँमा भनी उल्लेख भएको छ । सो अनुसार नै भनेको हुन सक्छ तर सम्वतको आधार भन्ने हो भने ठोकुवा गरी भन्न सकिन्छ कि यो विक्रमादित्य नभई नेपाल सम्वतको आधार भन्ने हो भने ठोकुवा गरी भन्न सकिन्छ कि यो विक्रमादित्य नभई नेपाल सम्वत स्थापित गर्ने शंखधर साख्वा हुनुपर्दछ किनभने शंखधर साख्वाले पनि यस क्षेत्रमा सम्यक महादान गरी त्यसै कराहीमा खीर (पायस) र मूलाको परिकार बनाई हुबहु आफ्नो मूर्ति श्री बज्रयोगिनी देवीलाई चढाई कराही ठाउँ ठाउँमा मर्मत गरी यस ठाउँमा पनि आफ्नो नाम राख्न खोजेको हुन सक्दछ ।

सो टाउको यति मात्र होइन, यसलाई बुद्धको जस्तो बनाएर राजाको नाम दिएर यस क्षेत्रमा गर्नुपर्ने परम्परा गरी आजसम्म यहाँको पुजारीहरुले पूजा आराधना गर्दै आएका छन् । यस्तै भएको नाताले यस क्षेत्रमा अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

शंखधर साख्वा कान्तिपुरमा बसी आफ्नो कार्य गरेको हुनाले यहाँको मूल देवता पशुपतिनाथलाई अर्पण गरी यस क्षेत्रको सम्मान गरेको र शंखधर साख्वा विचारवान र धर्ममा पनि आस्था भएको बुद्धिवान पुरुष भएकोले उहाँले आफ्नो स्थानमा पनि आफ्नो मूर्ति राखेको हुन सक्दछ ।

त्यसताका यो कराहीलाई काम गर्नको लागि सम्यक गरी परम्परा अनुसार बुद्धको मूर्ति बनाई सो काम समाप्त भएपछि यस कराहीलाई घोप्ट्याइएको हुन सक्छ । अहिलेसम्म उठाइएको छैन र सम्यक महादान पनि भएको छैन । यस क्षेत्रमा केही गरी सम्यक महादान पनि भएको छैन । यस क्षेत्रमा केही गरी सम्यक हुने भए फेरि यो कराहीमा विभिन्न परिकार बनाउने होला ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments