पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ, विश्वमै शीर्ष न्यायाधिशमा गनिए



– क्रिस्टिना श्रेष्ठ –

२०७८ असार २४ गते

लावण्य/साँखु । नेपालका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट संसारका माथिल्लो उचाइका न्यायाधीशको सूचीमा सूचीकृत भएका छन् । श्रेष्ठले सन् २००५ देखि २०१६ सम्म सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए । यसअवधिमा उनी नौ महिना प्रधानन्यायाधीश रहेका थिए ।

श्रेष्ठले ११ वर्षको कार्यकाल नेपाली न्याय क्षेत्रको स्वर्णिम समय भएको क्याम्ब्रिज प्रेसले उल्लेख गरेको छ । क्याम्ब्रिज पब्लिकेसनको एक पुस्तकमा उल्लेख भए अनुसार श्रेष्ठको बिरासतलाई न्यायालयको प्रशासनिक सुधारको रूपमा चित्रण गरिएको छ । उनको कामको प्रभाव वर्णन गर्न त्यो कार्यकालमा नेपालको ऐतिहासिक र राजनीतिक संवेदनशीलतामा पनि ध्यान दिनुपर्छ । सन् २००५ देखि २०१६ सम्म उनले सर्वोच्च न्यायालयको बेन्चमा बिताएको ११ वर्षे कार्यकालकै बारे क्याम्ब्रिज पब्लिकेसनले उल्लेख गरेको छ ।

त्यो समयको राजनीतिक गन्जागोल संवैधानिक रूपान्तरण र नाटकीय राजनीतिक परिवर्तन सबै संवैधानिक मुद्दामा प्रभाव पार्ने घटना थिए । यसका साथै श्रेष्ठ माथिल्लो उचाइको न्यायाधीश हुनुका अन्य कारक तत्वका बारे पनि उल्लेख गरिएको छ । उनमा व्यक्तिगत स्वभाव समय तथा संस्थागत र सांस्कृतिक अवस्थाको प्रभाव पनि परेको थियो’ भनिएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको व्यावसायिक दक्षता र इमानदारीबाट प्रभावित नेपाली सञ्चारमाध्यमले उनलाई स्वच्छ छविका दृढ व्यक्तित्वको संज्ञा दिँदै सम्मानजनक स्थान दिइरहे । पुस्तकमा उल्लेख भएअनुसार राजनीतिक परिवर्तनका कारण न्यायालयमा पर्न सक्ने प्रभाव ध्यानमा राख्दै न्यायालयको वैधतालाई दिएको प्राथमिकता नै श्रेष्ठ उचाइको न्यायाधीश घोषित हुनुको पहिलो कारण बनेको छ ।

लक्ष्य प्राप्तिका लागि तीन प्रस्ट रणनीति राखेका कुरा उनले खुला रूपले व्यक्त गरेका थिए । यसले श्रेष्ठको योगदानको अझ बढी प्रशंसा भएको थियो । पुस्तकमा उल्लेख भएअनुसार हरेक राजनीतिक सङ्कटमा न्यायालयको स्वतन्त्रता जोगाउन श्रेष्ठले सङ्घर्ष गरे । पहिलो संविधान सभाको विघटन र प्रधानसेनापति परिवर्तन लगायत घटना उनकै कार्यकालमा भएका थियो । यसैगरी गरिब र सीमान्तकृतप्रतिको चासोले उनलाई राजनीतिक लाभभन्दा अन्तर्राष्ट्रिय कानूनलाई बढवा र सम्मान दिन प्रेरित गरेको थियो ।

श्रेष्ठका कार्यकालमा भएका थुप्रै निर्णय र फैसला हेर्ने हो भने सङ्क्रमणकालीन न्याय लैङ्गिक समानता वातावरण संरक्षण गोपनीयताको हक र सन्तान उत्पादनको अधिकार लगायत अनेकौँ विषय महत्वपूर्ण मानिएका छन् । उनलाई आफ्नो कार्यकालमा ती थुप्रै विषयलाई स्थापित गरेको श्रेय पनि दिइएको छ । पुस्तकमा उल्लेख भएअनुसार कर्मचारीको क्षमता र संरचनात्मक रूपमा सर्वोच्च न्यायालयको क्षमता अभिवृद्धि गर्न श्रेष्ठले धेरै काम गरेका थिए ।

उनले आफ्नो कार्यकालमा पञ्चवर्षीय योजना बनाएर सरकारबाट बजेट उपलब्ध गराउँदै राष्ट्रिय न्यायिक प्रतिष्ठान नेसनल जुडिसल एकेडेमी स्थापना गरेका थिए । पुस्तकमा श्रेष्ठको व्यक्तिगत पाटो र कार्यशैलीका बारे पनि उल्लेख गरिएको छ । अन्य न्यायाधीशसँगको सम्बन्ध र न्यायिक कार्यसम्पादनको तरिका हेर्ने हो भने धेरै मुद्दामा उनी एक्लै रहे या बेन्चका अन्य न्यायाधीशसँग मत बाझियो । पुस्तकका उल्लेख गरिएको छ ।

श्रेष्ठले निर्णय आफैँ लेख्ने बानी विकास गरेका थिए । पुस्तकमा उल्लेख भएअनुसार यसले अन्य न्यायाधीशलाई उनको निर्णयमा सहमति जनाएर हस्ताक्षर गर्न सहज बनाएको थियो । पुस्तकमा लेखिएअनुसार श्रेष्ठले संविधान लेखनको क्रममा भिन्न संवैधानिक अदालत बनाउने प्रस्तावको विरुद्धमा उभिएर न्यायिक स्वतन्त्रता जोगाउन दृढता पूर्वक संघर्ष गरेका थिए । त्यसपछि सर्वोच्च अदालतसँगै संवैधानिक बेन्च पनि निर्माण गर्ने कुराको सम्झौतामा दुःखी हुँदै उनले राजीनामा दिएका थिए ।

Post a Comment

0 Comments