सुष्मा कोइराला मेमोरियल अस्पतालले भूकम्पपीडितलाई निःशुल्क हाडजोर्नी तथा प्लाष्टिक सर्जरी सुविधा दिने – अच्युत रेग्मी –

साँखु÷सुष्मा कोईराला मेमोरियल अस्पताल साँखु सलम्बुटारले भुकम्पपीडित घाईते विरामीहरुलाई निःशुल्क हाडजोर्नीको शल्यक्रिया गरिदिएको छ भने प्लाष्टिक सर्जरी समेत निःशुल्क गरिदिने भएको छ । काठमार्डौँ उपत्यकाको साँस्कृतिक तथा ऐतिहासिक नगरी साँखु यतिबेला शोकमा डुबेको छ । हिन्दू धर्मावलम्बीहरुको लागि विशेष महत्वको स्थान रहेको स्वस्थानी व्रतकथासँग जोडिएको शालिनदी क्षेत्र वरपरका जनता शोकमा डुबेका हुन् । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट साँखु शालिनदी लगायतका क्षेत्र तथा शंखरापुर नगरपालिकाभित्र मात्रै १२७ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाईते भएको छ । घाईते भएका अधिकांश विरामीहरुको स्थानीय लाईफ केयर अस्पताल र सुषमा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । इन्टरप्लाष्ट जर्मनी, सुष्मा मेमोरियल ट्रस्ट र समाज कल्याण परिषद्को त्रिपक्षीय सम्झौतामा काठमाडौँको साँखुमा सञ्चालित यस अस्पतालले भूकम्पपीडित जनतालाई निःशुल्क सेवा प्रदान गर्दै आएको उक्त अस्पतालका हाडजोर्नी ता नसा रोग विशेषज्ञ डा. लक्ष्मण रिजाल बताउनुहुन्छ । अस्पताल स्थापना भएदेखिनै आगोले पोलेका विरामीहरुको लागि नियमित सुलभ उपचार सेवा प्रदान गर्दै आईरहेको उक्त अस्पतालमा गत वर्षदेखि नियमित सुलभ र गुणस्तरिय रुपमा हाडजोर्नीको समेत उपचार थालिएको हो । उक्त अस्पताल सन् १९९७ मा स्थापना भएको हो । उक्त अस्पतालले गत बैशाख १२ को भूकम्पपछि मात्र ६० जनाभन्दा बढीको जटिल हाडजोर्नीको शल्यक्रिया गरिसकिएको रिजालले बताउनुभयो । यस अस्पतालले जनरल मेडिसिन, मानसिक रोग, स्त्री रोग लगायतका सेवाहरु समेत सञ्चालन गर्दै आएको छ । अन्य दिनहरुमा पनि यस अस्पतालले प्रदान गर्दै आएको हाडजोर्नी सेवा गुणस्तरिय भईकन अन्य नीजि अस्पतालको तुलनामा सस्तो सेवा दिएको अस्पताल सुत्र बताउँछ । डा. रिजालका अनुसार पचास शैयाको अस्पताल भूकम्पपछि बाहिर र भित्र गरेर एउटै समयमा ७०–८० जनासम्म विरामीलाई भर्ना गरेरै उपचार गरिएको थियो । यस बाहेक उक्त अस्पतालले छिमेकी जिल्ला धादिङ, दोलखा, नुवाकोट, भक्तपुर, सिन्धुपाल्चोक र काभे्र लगायतका जिल्लाबाट आएका एकसय भन्दा बढी विरामीहरुको निःशुल्क उपचार गराई सकिएको अस्पतालका निर्देशक डा. जसवन शाक्यले जानकारी दिएका छन् । भूकम्पपीडित जनताको अझै सेवा गर्न अस्पताल तयार रहेको समेत उहाँको भनाई थियो । अस्पतालले उपत्यका र उपत्यका बाहिरबाट आएका गरिब तथा आर्थिकरुपले असक्षम घाईते र घाईतेका एक जना कुरुवालाई समेत निःशुल्क खानाको व्यवस्था गरिदिएको छ । साथै उपचार सकिएर घर पठाइएका विरामीलाई गाडी भाडा समेत दिएर घर पठाईएको जानकारी समेत डा. शाक्यले दिनुभयो । अस्पतालको चिकित्सक टोली विभिन्न जिल्लामा गएर विरामीको अवस्थाबारे बुझी गम्भीर विरामीलाई अस्पतालकै खर्चमा गाडीमा ल्याई उपचार गरेर घर पठाईएको समेत अस्पतालले जनाएको छ । अस्पतालले भूकम्प पीडितहरुको लागि करिब ५ लाख बराबरको हाडजोर्नीको शल्यक्रियामा प्रयोग हुने औषधीका साथै स्टिल पाता, रड लगायतका इन्प्लाटहरु समेत निःशुल्क जडान गरिदिएको छ । उक्त अस्पतालमा आगोले पोलेका विरामीहरुको तत्काल उपचार गरिनुका साथै करिब ८÷१० दिन पुराना घाउमा खाटा बसेका विरामीहरुको लागि प्लाष्टिक सर्जरीको काम गरिन्छ । अवस्था हेरि आर्थिकरुपले विपन्न विरामीहरुको लागि सधैँ नै सो अस्पतालले निःशुल्क रुपमा प्लाष्टिक सर्जरी गरिदिने गरेको छ । यस्तो अवस्थाका विरामीहरुको लागि एक जना कुरुवालाई समेत खानाको व्यवस्था अस्पतालले गर्दै आईरहेको छ । यस्तै गत शुक्रबार बंगलादेशको विभिन्न संघ संस्थाको सक्रियतामा औषधी किनेर सुष्मा कोईराला मेमोरियल ट्रस्ट मार्फत् ट्रष्टकी अध्यक्ष सुजाता कोईरालाले यस अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएका सामग्रीहरुमा शल्यक्रियाका लागि चाहिने औषधीहरु, तत्पश्चात जरुरी हुने औषधी एवम् घाउ सफाई गर्न चाहिने सामानहरु छन् । सो अवसरमा ट्रष्टकी अध्यक्ष कोईरालाले मानव सेवा नै ठूलो धर्म हो भन्दै यस्तो अवस्थामा अन्य संघ संस्थालाई पनि यो विपतको अवस्थामा नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । कोईरालाको सहयोगमा देशका विभिन्न जिल्लाहरुमा खाद्यान्न तथा त्रिपालहरु समेत वितरण भईरहेको छ । उक्त अस्पतालको स्थापना ट्रष्टकी अध्यक्ष सुजाता कोईरालाले आफ्ना ममतामयी माता सुषमा कोईरालाको आगोले जलेरै मृत्यु भएको हुँदा आफूलाई जस्तो दुःख अन्य नेपालीहरुलाई नहोस् भनेरै आगोले पोलेका गरिब असहाय विरामीहरुको लागि निःशुल्क सेवा गरिदिने सदासयताका भएको हो । रासस

Post a Comment

0 Comments