प्रकाशमान सक्व
जुनसुकै विहारमा पनि भिक्षु भन्ते बर्षाबास बसेको खण्डमा बर्षाबास पछि कठिन दान गर्नुपर्ने नियम बुद्धको पालादेखि चल्दै आईरहेको कुरा बुद्धजीवनी कथामा लेखिएको छ । कठिन जीवनयापन गरि श्रावण पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना बर्षाबास पछि कार्तिक पूर्णिमाभित्र कठिन चीवर दान दिने गरिन्छ । यो बौद्धमार्गीहरुको नियम भित्र पर्दछ ।
साँखु नगरभित्र २०७९ सालमा श्री मणिचुड जन्मभूमी महाविहारको नामबाट पौराणिक शंखरापुर नगरभित्र वडा नं. ६ ईपाटोलमा स्थापना गरेको छ । त्यस महाविहारमा स्थानीय दयालक्ष्मी बुद्धाचार्यले श्री मुनिबिहार भक्तपुरबाट दिक्षा प्राप्त गर्नुभई गृहस्थी जीवन त्याग गरि आफ्नै हकभोगको जग्गामा भवन तयार गरिने क्रममै निर्माणाधीन घरको भुईतल्लामा खुलारुपमै बुद्ध प्रतिमा राखेर श्री मणिचुड जन्मभूमी महाविहार नामाकरण गरि विधिवतरुपमा विहारको नियम बमोजिम बुद्धपूजा, बुद्धप्रार्थना, बुद्धवचन प्रवचन र पूण्यानुमोदन कार्य गरि बुद्ध पारशीलन कार्यहरु आफ्ना उपासक र उपासिकाहरुलाई शील, प्रार्थना र ज्ञानमाला भजन कीर्तनबाट बुद्धज्ञान प्रदान गर्दै आउनु भएको छ ।
श्री मुनिविहार भक्तपुरबाट दयालक्ष्मी बुद्धाचार्य अनागरिका बन्नु भएपछि वहाँको गृहस्थी नाम परिवर्तन भई दयावती गुरुमा हुनुभयो । मुनिबिहार भक्तपुरबाट सम्बन्धन प्राप्त यस श्री मणिचुड जन्मभूमी महाविहारलाई आवश्यक सरसहयोग र साथीको लागि केशरी गुरुमालाई पठाई केशरी गुरुमाबाट पनि शील, प्रार्थना एवं नियमित बुद्धपूजा कार्यक्रम गरी उपासक उपासिकाहरुको लागि दिने बुद्ध जातक ज्ञान, बुद्ध अनुयायीहरुले गर्नुपर्ने कार्य र पालन गर्नुपर्ने बुद्ध अनुशासन विधिहरु वर्णन गर्ने र जप, ध्यान र श्लोकहरु कण्ठ गर्ने र गराउने कार्य गर्नुभयो ।
गुरुमाहरुको सहयोगमा मुनिविहारका श्रद्धेय गुरु अर्जुन भन्तेले अप्ठ्यारो नमानीकन निर्माणाधीन विहारको यौटा कोठा लिएर बर्षाबास गर्ने अठोट गरेपछि उपासक र उपासिकाहरुले पनि सक्दो आवश्यक सहयोग गर्ने वचन दिए । बर्षाबासको कार्यक्रम तय गरी २०७९ साल श्रावण शुक्ल पूर्णिमादेखि आश्विन पूर्णिमासम्म कठिन बर्षाबास कार्य सुरु भयो । साँखुमा यसरी बिहार भित्र बर्षाबास गरेको शताव्दीकै पहिलो पटक हो ।
साँखुको उत्तर दिशामा बज्रयोगिनी मन्दिर रहेको पहाडी जंगल क्षेत्र रहेको छ । त्यसमाथि मणिचुड कुण्ड रहेको छ । लिंगपुराणमा वर्णित चौसठ्ठी लिंगेश्वर मध्ये मणिचुड एकतिसौँ लिंगेश्वरमा पर्दछ । सो मणिचुड कुण्डको वर्णन बौद्ध र हिन्दू ग्रन्थहरुमा अलग अलग कथा प्रशंगहरु रहेका छन् । लिंग पुराणमा शिवजीले जलभित्र कुण्डमा तपस्या गरेको कुरा देवलोकका अधिपति इन्द्र,कुवेर, वरुण र अग्नी देवताहरुलाई ब्रम्हाविष्णुको सल्लाहमा प्रार्थना गरेपछि बज्रयोगिनी खुशी भई शिवजी मणिकुण्डमा पानीभित्र तपस्या गरेको प्रशंग लेखिएको पाईन्छ ।
बौद्ध ग्रन्थ मणिशैल महावदानमा शांकेतुनगरका राजा धर्मदत्त र कान्तिमती रानीको सुपुत्र मणिचुडले तपस्या गरि विभिन्न कार्य र कुशलता वावजुद आफ्नै शीरको मणिदान गरेको कारण सम्यक सम्बोधी ज्ञान प्राप्त गर्ने उद्देश्यको पवित्र कार्य गरेको स्थल भएकोले उसैको नामबाट बज्रयोगिनी क्षेत्रको जंगलसहितको डाँडालाई मणिचुड पर्वत भनिएको पाईन्छ । त्यस मणिचुड पर्वत वरपर नौ वटा अरु पवित्र कुण्डलहरु, नवनागराजाहरु, नौ वटा महाविहारहरु समेत भएको वर्णन गरिएको छ । यसरी परापूर्वकालमा नौ वटा विहारहरु रहेको स्थानमा श्रामणेर भीक्षु गणहरु अनागरिका भीक्षुणीहरु समेत आ–आफ्नो शीलपालन गरी बसेको र त्यस क्षेत्रबाट नै पछि नेपाल मण्डलमा ती महाविहारका भिक्षुगण र त्यसको संरक्षकहरुले कालान्तरमा विहारको विकास गरेको कुरा इतिहासिमा लेखिएका छन् ।
कलिगत सम्वत् १८०१ मा शंखरापुर नगर निर्माण गरेर आठवटा टोलहरुका आठवटा विहारहरु स्थापना गरेको कुरा मणिशैल महावदानमा प्रष्टसँग उल्लेख गरिएका छन् । ती आठवटा विहारहरुको नाम र स्थान समेत रहेको तर विहारमा बज्राचार्यहरुको बज्रयान तन्त्रविधि अनुसार पूजापाठ मात्र गरिएको छ । वर्षको एक पटक पञ्चदान गर्दा साँखुका बासिन्दाहरुले बज्राचार्यहरुको विहारमा गएर अन्न, फलफूल, कपडा, पैसा र अन्य दान सहित सम्यक दान गरेको कार्य वर्णन गरिएको थ्या सफुमा लेखिएको छ । तर श्री मणिचुड जन्मभूमी महाविहारमा जस्तै भिक्षु स्थविरहरुले तीन महिनाको बर्षाबास गरी कठिन दान गरेको घटनावली लेखिएको छैन साथै साँखुको सन्दर्भमा कठिन चीवर दान गरेको घटना सुन्नमा पनि आएको छैन ।
यसपटक पहिलो कठिन दान कार्यक्रमको लागि साँखुकै उपासक श्री ज्ञानरत्न मानन्धरले जिम्मा लिएर कठिनदान कार्यको सम्पूर्ण जिम्मेवारी लिने भएपछि श्रद्धेय भिक्षु गरुको स्थविर (अर्जुन मगर)ले आफ्ना अन्य उपास उपासिका सहित वरिष्ठ रोल क्रमको भन्ते भिक्षु सहित करीब पचास जना श्रामणेर भिक्षु गण र भिक्षुणी गुरुमाहरुको उपस्थितिमा उपत्यकाका अन्य उपासक उपासिकाहरुको सहयोगमा तीस÷चालिस जनाले अष्टपरिस्कार वस्तु र पात्र दान कार्य गरेका छन् । त्यस्तै अन्य उपासक र उपासिकाहरु विभिन्न विहारबाट श्रद्धाभक्तिका साथ श्री मणिचुड जन्मभूमी महाविहारको निमन्त्रणामा पाल्नुभएकाहरुले पनि आफुखुशी श्रद्धाभक्तिका साथ दान कार्य गरि पूण्य लाभ गरे ।
त्यस अवसरमा शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित, ६ नं. वडाका वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ र ७ नं. वडाका वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ समेत कठिन चीवर दान कार्यमा उपस्थित हुनुभएको थियो । साथै श्री मणिचुड जन्मभूमी महाविहारमा बुद्धको तपस्या गरेको झण्डै दुईफुटभन्दा अग्लो प्रष्तरमूर्ति दान गर्ने दानपति उपासिकाको पनि कठिन दानमा उपस्थिति रहेको थियो । त्यस अवसरमा अर्जुन भन्तेले श्री मणिचुड जन्मभूमी महाविहारको भवनलाई भिक्षु संघलाई दान गरेको घोषणा गरी शंखरापुर नगरपालिकालाई भवनको बाँकी सम्पूर्ण निर्माण कार्य र संरक्षण कार्य गरि नगरपालिकाको स्वामित्वमा राखेर महाविहारलाई सहयोग गर्न आग्रह गर्नुभयो भने नगरप्रमुख रमेश नापितले नगरपालिकाबाट महाविहारको संरक्षणको लागि सक्दो व्यवस्था गर्ने वचन दान पनि दिनुभयो ।
कठिन चीवर दान गर्नु अगाडि चीवरलाई पवित्र पात्रमा अन्न फलफूल सहित फूलमालाले सिंगार गरी बुद्ध प्रतिमालाई पवित्र कठिन छत्रले ओढाएर साँखु नगर परिक्रमा गरी इपाटोलस्थित महाविहार भवनको प्राङ्गणमा सम्पूर्ण कार्य सम्पन्न गरी सबै उपासक उपासिका सहित बाद्यवादन गरी दानकार्यमा सघाउनेहरुलाई भोजन प्रसाद वितरण गरिएको थियो ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

0 Comments
Thanks for your concerns