बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा साँखुमा भएको छ ।
३० असोज २०७९, आईतवार
लावण्य/साँखु । नेपाल शिरोमणी बज्रयोगिनी मन्दिर क्षेत्रको विषयमा चासो राख्दै साँखु जेसीजले “बज्रयोगिनी सम्पदा तथा महिमा विषयका गोष्ठी” यही असोज २९ गते शनिवार शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
सो गाष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै रामेश्वर श्रेष्ठ “ह्याउँनिभाः”ले बज्रयोगिनी क्षेत्र ऐतिहासिक धार्मिक महत्वको सम्पदा हुनुका साथै नेपाल उत्पत्तिसँग सम्बन्धित भएकोले यो सम्पदालाई जति बचाउन सकियो राम्रो बनाउन सकियो त्यत्ति नै धार्मिक साँस्कृतिक पर्यटकको आकर्षण केन्द्र बनाउन सकिने विचार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मेयर नापितले यस वर्ष बजेट विनियोजन गर्दा बज्रयोगिनी मन्दिर क्षेत्रको विकासमा ध्यान पु¥याउन नसकिएको भन्दै अर्को वर्ष १ करोडभन्दा माथि नै बजेट विनियोजन गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा उप मेयर समिता श्रेष्ठले सम्पदा सम्बन्धी गोष्ठी नगरपालिकाले सञ्चालन गर्नुपर्नेमा साँखु जेसीजले अग्रसरता देखाएको हुँदा साँखु जेसीजलाई धन्यवाद दिँदै सम्पदा, सँस्कृति र परम्पराको निरन्तरताको लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व मेयर सुवर्ण श्रेष्ठले बज्रयोगिनी क्षेत्र र साँखु बजार सम्पदा बस्तीमा सूचीकृति भईसकेको तर सम्पदा वस्ती घोषणा हुन बाँकी रहेको खुलासा गर्नुभएको थियो ।
उहाँले यसको लागि नगरपालिकाले पहल नगरी सम्भव नहुने बताउँदै नगरपालिकाले यस विषयमा चासो लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष पोते थिङले बज्रयोगिनी क्षेत्र विकासको लागि आफु लागिपरेको बताउँदै मन्दिर क्षेत्र व्यवस्थापनको लागि बनेको समितिमा आफु अध्यक्ष हुन पाउनुपर्ने जीकिर गर्दै मन्दिर क्षेत्र व्यवस्थापन गर्न आफु सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय ईतिहास अध्येता प्रकाशमान सक्व, पूर्व गाविस अध्यक्ष एवं बज्रयोगिनी सेवा समितिका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठ, बज्रयोगिनी पूजारी अमृतानन्द बज्राचार्यका साथै साँखु जेसीजका पूर्व पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संयोजन नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं साँखु जेसीजका पूर्व अध्यक्ष सूर्य बहादुर रञ्जितले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव गणेश दुलालले गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns