शालिनदी यातायातद्वारा पूर्व व्यवसायी एवं नेकपा समाजवादीका नेता एल्पी श्रेष्ठ सम्मानित



भाद्र  ७, २०७९, मंगलवार

शंखरापुरका बासिन्दालाई स्वास्थ्य सेवा निशुल्क गर्ने तयारी भईरहेको छ । – मेयर नापित

लावण्य/साँखु । शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा शालिनदी यातायात प्रा.लि.ले पूर्व व्यवसायी एवं नेकपा एकीकृत समाजवादीका नवनियुक्त काठमाडौँ जिल्ला अध्यक्ष एल्पी श्रेष्ठलाई सम्मान गरेको छ ।



कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले नगरपालिकाले गाउँ टोलमा पुगेर स्वास्थ्य सेवा कार्यक्रम शुरु गर्न लागेको बताउँर्दै स्वास्थ्य सेवा निशुल्क बनाउनको लाग सुषमा मेमोरियल ट्रष्टसँग एमओयुको तयारी भईरहेको बताउनुभएको छ ।

नगरपालिकाभित्रका आम जनताको स्वास्थ्य सेवा निशुल्क गर्नको लागि नगरपालिकाले ६० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

नगरपालिकाले सञ्चालन गर्ने घुम्ती स्वास्थ्य शीविरमा स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचका साथै निशुल्क औषधी वितरण समेत गरिनेछ । आर्थिक रुपमा नगरपालिका कमजोर भएपनि आम जनताको लागि आफूहरुको मन ठ्रलो भएको बताउनुभएको छ ।

उहाँले नागरिकको घर दैलोसम्म सडक पु-याउन सडक बिस्तारको काम गर्न लागेको बताउँदै यसअघि नगरपालिकामा ५५ मेट्रिक टन रासायनिक मल आउने गरेकोमा आफूले रासायनिक मलको कोटा बढाउन पहल गरेर अब प्रत्येक वर्ष १ सय ७९ मेट्रिक टन मल आउने बताउनुभयो ।

कृषि मन्त्रालयले रासायनिक मल कोटा बृद्धिको आधार मागेपछि आफुले जग्गा र कृषकको आधार देखाएपछि कृषि मन्त्रालय सो परिणामको मलको कोटा बृद्धि गर्न तयार भएको उल्लेख गरे । उनले साँखु सालीनदी यातायात सार्वजनिक सेवा विस्तारको लागि के गर्न सकिन्छ त्यसका लागि आफू आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मेयर नापितले शंखरापुरमा विभिन्न राजनीतिक दलहरुसँग आफू सहकार्य गरेर जान चाहेको बताउँदै अहिले विपक्षीहरुले शंखरापुरमा आउन लागेको बजेट रोक्न खोजेको गुनासो गर्दै भन्नुभयो “यस्तो कार्य नगर्नुहोला, किनकी म आज मेयर छु हिजो अर्कै थियो र भोलि अर्कै हुनेछ । तर विकास रोकियो भने शंखरापुरको समग्र जनताको वृत्ति विकास रोकिने हो ।” 

सम्मानित व्यक्तित्व पूर्व यातायात व्यवसायी एवं नेकपा एकीकृत समाजवादीका नेता एल्पी श्रेष्ठले भन्नुभयो– आफु हिजो अतिथि बोलाउने ठाउँमा थिएँ, आज आफै अतिथि भएर आएको छु ।

शंखरापुरको समग्र विकासको लागि आफू सबै पार्टीहरुसँग मिलेर जान चाहेको बताउँदै भन्नुभयो राजनीति गर्दै गरौँला तर विकास निर्माणमा भने सहयोग रहनेछ ।

आफ्नो योगदानलाई सम्झेर सम्मान गरेकोमा शालिनदी यातायात प्रा.लि.लाई धन्यवाद दिँदै भन्नुभयो– यातायात क्षेत्रको विकास नभई समाजको समग्र विकास नहुने र सडक सञ्जालको विकास नभई अन्य विकासको पूर्वाधार तयार नहुने बताउनुभयो । उहाँले यातायात व्यवसायी सधैँ सरकारको वक्रदृष्टीमा परेको बताउँदै सार्वजनिक यातायात सम्पूर्ण दायित्व सरकारको रहेको बताउनुभयो ।

नेपाली काँगे्रसका काठमाडौँ २ का क्षेत्रिय सभापति कविर शर्माले भन्नुभयो– आफू कलेज पढ्दा देखिकै साँखुको बस अहिले शालिनदी यातायातको रुपमा काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको आशाको त्यान्द्रो रहेको बताउँदै समय अनुसार अब विद्युतीय सवारीका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले शंखरापुर नगरपालिका र कागेश्वरी मनोहराले सार्वजनिक यातायातका क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले शालिनदी मेलाको सदुपयोग गर्दै क्लीन ईनर्जीको प्रमोसन गर्दै दुईवटा नगरपालिका मिलेर चार्जिङ्ग स्टेशन मात्रै पनि बनाईदिने हो भने सर्वसाधारणले विद्युतीय सवारीको प्रयोग बढाउने बताउनुभयो ।

राप्रपाका क्षेत्रिय अध्यक्ष राजु विष्टले शालिनदी यातायातले साँखु कात्तिके, साँखु सूर्यमण्डली र साँखु घुमारचोकजस्ता सार्वजनिक यातायातको सेवाको पहुँच नपुगेको ठाउँमा सेवा दिनुपर्ने बताउँदै यो सेवा सञ्चालन गर्न के कस्तो सम्भाव्यता छ अध्ययन हुनुपर्ने बताउनुभयो ।

साँखु शालिनदी यातायात प्रा.लि.का अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले आफूहरुलाई मित्रहरुले नै घात गरेको प्रसंग उप्काउँदै भन्नुभयो शालिनदी यातायातले घाटा हुँदा समेत बस सञ्चालनमा राखिरहेको तर अन्य सेवाका बसहरु कुनै १० दिन कुनै १ महिना मात्रै सञ्चालन गर्ने र कुनै जहिले मनलाग्यो आउने जहिले मन लाग्यो नआउने गरेको बताउँदै यसमा नगरपालिकाहरुले समन्वय गरेर अनुगमन गरि कडाई गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आर्थिक प्रतिवेदन पेश गर्दै गत वर्ष करिब सवाकरोड आम्दानी गरेपनि ३५ लाख रुपैयाँ साँवा र ब्याज सहितको ऋण चुक्ता गरिएको कारण १७ लाख ९१ हजार रुपैयाँ घाटा लागेको बताउनुभएको थियो ।

कार्यक्रममा पूर्व बस व्यवसायी एवं समाजसेवी मदनगोपाल कारञ्जितले व्यवसाय गर्न चाहनेहरुले यस पेशामा के कस्ता कमी कमजोरी छन् भन्ने थाहा पाएर व्यवसाय गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रमको सञ्चालन ओम बहादुर कार्कीले गर्नुभएको थियोभने स्वागत मन्तव्य रामेश्वर श्रेष्ठले दिनुभएको थियो । श्रेष्ठले स्वागत मन्तव्यकै क्रममा भन्नुभयो अब पनि डिजेल र पेट्रोलकै गाडी चलाएर बस्ने हो भने व्यवसायीलाई पनि फाईदा नहुने र विदेशी मुद्रा पनि बाहिरिने भएकोले विद्युतीय सवारी साधन चलाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा साँखु क्षेत्रका विभिन्न पेशा र व्यवसाय गरिरहेका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments