नेपालभाषाका प्रगतिवादी महाकवि जिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वमाथि चर्चा
२०७९ जेठ २५ गते
लावण्य/साँखु । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषाका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८४ औँ जन्मजयन्तीका सन्दर्भमा ‘महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रमको आयोजना गरियो । गोष्ठीमा महाकवि जोशीको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरिएको थियो ।
प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको रूपान्तरणका लागि महाकवि जोशीले साहित्य सृजना गरेर समाज र राष्ट्रलाई विशिष्ट योगदान दिएको बताउनुभयो । सो क्रममा उहाँले मुलुकका मातृभाषाका साहित्यको विकासका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उल्लेखनीय कामहरू गर्दै आएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. जगमान गुरुङले आफ्नो भाषा, साहित्य तथा संस्कृति बचाउन सम्बन्धित जाति तथा समुदाय आपैmँ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानले सबै मातृभाषाका साहित्य र स्रष्टाहरूलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले कीर्तिशेष अमर साधकहरूको स्मृतिमा उहाँहरूका योगदानमा आधारित रहेर विचार विमर्श कार्यक्रम आयोजना गर्ने गरिएको उल्लेख गर्नुहुँदै आजको कार्यक्रम यसैको सिलसिला भएको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालभाषा साहित्यको विशेष गरी कविता विधामा सो भाषाका प्रगतिवादी कवि गिरिजाप्रसाद जोशीको विशिष्ट योगदान रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागबाट नेपालभाषाको साहित्यतर्फ उल्लेखनीय कार्यहरू भएको बताउनुभयो ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले महाकवि जोशीले नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिनुभएको बताउनुभयो ।
कार्यक्रममा नारद बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व विषयमा प्रवचन दिनुभएको थियो । उहाँले प्रवचनका क्रममा छोटो समयमै महाकवि जोशीले नेपालभाषा साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिनुभएको बताउनुभयो । नेपाल संवत् १०५८ जन्मिनुभएका जोशी नेपाल संवत ११०७ कीर्तिशेष हुनुभएको थियो । उहाँका विभिन्न विधाका करिब चार दर्शन कृति प्रकाशित छन्
कार्यक्रममा महाकवि जोशीद्वारा नेपालभाषामा लिखित तथा नेपालभाषाबाट नेपाली भाषामा अनूदित र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘विपात्र’ उपन्यास कुलपति उप्रेती र उपकुलपति डा. गुरुङले लोकार्पण गर्नुभएको थियो ।
सो कार्यक्रममा ई. राजदास श्रेष्ठले नारद बज्राचार्यको प्रवचनमाथि परिपूरक विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कविहरू सुरेश किरण, ईश्वरीमैयाँ श्रेष्ठ र शरद कसाःले महाकवि जोशीका कविता वाचन गर्नुभएको थियो भने गायिका रीता महर्जन, चन्द्रबहादुर श्रेष्ठ र नहकुल श्रेष्ठले महाकविद्वारा रचित गीत गाएर सुनाउनुभएको थियो । कार्यक्रमको सहजीकरण शशीकला मानन्धरले गर्नुभएको थियो ।
कार्यक्रममा ई. राजदास श्रेष्ठले कलाकारद्वय महर्जन रत्न र रञ्जु श्रेष्ठलाई “त्जभ थ्यनष्लष्” प्रोजेक्टमा गरेको कार्यका निम्ति प्रोत्साहन स्वरुप सम्मान सहित नगद पुरस्कार दिईएको थियो । कलाकार महर्जनलाई २० हजार र कलाकार श्रेष्ठलाई १० हजार नगद पुरस्कार दिइएको थियो ।
कार्यक्रममा नेपाल भाषा क्षेत्रका कार्यकर्ताहरु, साहित्यपे्रमीहरु एवं लब्ध प्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
0 Comments
Thanks for your concerns