२०७८ असोज ३१ गते
लावण्य÷साँखु । असोज ३१ गते भक्तपुरको दुई छुटाछुटै स्थानमा दुई वटा नेपाल भाषाका साहित्य सम्मेलनहरु सुरु भएका छन् । ४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या) भक्तपुरको देकोचास्थित ख्वप कलेजको प्राङ्गणमा सुरु भएको छ भने ६६ औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) अजिमा पार्टी महल बाराहीपीठ भक्तपुरमा सुरु भएको छ । दुवै साहित्य सम्मेलन दुई–दुई दिन चल्नेछन् ।
४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या)को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुभएको छ भने अर्कोतिर ६६ औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) को उद्घाटन कवि प्रतिसरा सायमीले गर्नुभएकी छिन् ।
विराटमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतका अतिथिहरु कार्यक्रममा सहभागी भएका छन । अर्कोतर्फ तःमुज्याको ४१ औं साहित्य सम्मेलनमा अतिथिका रुपमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा रतन भण्डारी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सर्वज्ञभक्त मल्ल, पूर्व न्यायाधिस गौरीबहादुर कार्की, प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका डा. विश्वबन्धु शर्मा, डा. अरुणा उप्रेती, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सरोज धिताल, डा. सुमित्रा गौतम, डा. रामप्रसाद ज्ञवाली आउने कार्यक्रम छ । साथै साहित्कारहरु सुलोचना मानन्धर, प्रतिसरा सायमी, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाईलगायत साहित्यिक र बौद्धिक व्यक्तित्वहरू उपस्थिति हुने जानकारी गराइएको छ ।
दुवै सम्मेलनमा नेपाल भाषाका पुराना तथा नयाँं साहित्यकारहरुले आ–आफनो साहित्य वाचन गर्ने कार्यक्रम छ । साथै कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको मन्तव्य पनि हुनेछ । साथै प्रतियोगितात्मक साहित्यिक कार्यक्रम पनि हुनेछन् । उत्कृष्ट साहित्यकारहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिनेछ । यी दुवै सम्मेलनहरु प्रत्येक वर्ष निरन्तर चल्दै आएको छ ।
0 Comments
Thanks for your concerns