काँग्रेस अधिवेशन काठमाडौँमा प्रकाशमान–गगन एक ठाउँमा



देउवा–सिटौलाको अर्को टिम

– सेतोपातिबाट–

काठमाडौंमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा फरक खालको छ ।

यहाँ सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको जरैसम्म प्रभाव देखिन्न ।

काठमाडौंमा शनिबार हुने पालिका तहको अधिवेशनमा पनि यो दृश्य फरक देखिनेछ ।

काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमा शनिबार पालिका तहको अधिवेशन हुँदैछ ।

सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ । किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ ।

काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन् ।

साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन् । कांग्रेसका यी दुई पक्षबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ ।

दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौंको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन् ।

सिंह–थापा समूहबाट काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष रहेका पुराना नेता नीलकाजी शाक्य सभापति पदका उम्मेदवार छन् ।

कम्युनिष्टहरूको गढमा उनले २०७४ मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका थिए । काठमाडौंलाई थप व्यवस्थित बनाउन आफूले काम गर्न सक्ने नीलकाजीले बताउँदै आएका छन् ।

साथै देउवा–सिटौला पक्षबाट तरूण दल काठमाडौंका संस्थापक अध्यक्ष रहेका प्रगतिमान रञ्जित सभापति पदका अर्का उम्मेदवार हुन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत र सिटौलानिकट रहेका भीमसेनदास प्रधानले यसपालि देउवा–सिटौलालाई काठमाडौंमा एकै ठाउँमा उभ्याएका छन् ।

प्रधानले सभापति देउवासहित आफूहरूले महानगरको सभापतिमा रञ्जितलाई सहयोग गर्ने निर्णय गरेको सेतोपाटीलाई बताए ।

‘काठमाडौंका पूर्वसभापति ध्यानगोविन्द रञ्जितलगायत हामी सबै साथीहरू प्रगतिमान रञ्जितलाई सहयोग गर्नेमा छौं । भूकम्पका बेला पनि उहाँले राम्रोसँग काम गर्नुभएको थियो । तरूण दल काठमाडौंको संस्थापक अध्यक्ष रहेर पनि उहाँले काम गर्नुभएको अनुभव छ । युवा हुनुहुन्छ, नेतृत्व गर्न सक्ने क्षमता छ भने भिजन पनि छ,’ प्रधानले भने ।

प्रधानका अनुसार सभापति देउवा र पूर्वमहामन्त्री सिटौलाको पनि महानगरको सभापतिमा प्रगतिमानलाई समर्थन छ ।

‘सभापति र पूर्वमहामन्त्री सिटौलाले पनि प्रगतिमानलाई समर्थन गर्नुभएको छ,’ प्रधानले भने ।

महानगरमा सभापतिका उम्मेदवार रहेका प्रगतिमानले पनि आफूलाई सभापति देउवासहित पूर्वमहामन्त्री सिटौलाको पनि समर्थन रहेको दाबी गरे ।

‘पार्टी संगठन बलियो बनाउने हो । स्थानीय चुनावमा मेयरसहित धेरै वडाध्यक्ष जित्ने हो,’ उनले भने, ‘१५ वर्षसम्म महानगरमा चुनाव नहुँदा नेतृत्वविहीन अवस्था रह्यो । नेतृत्वको खडेरी प¥यो । सबैसँग समन्वय गर्दै म पुराना र नयाँ पुस्ताको साथ लिएर महानगरमा पार्टीको संगठन बलियो बनाउँछु ।’

देउवा–सिटौला र सिंह–थापाले महानगर कार्यसमिति चुनावमा प्यानल नै बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् । प्रगतिमानले पनि प्यानलबीच नै चुनाव हुने बताए ।

‘प्यानल बनाएर जाने पक्षमा म थिइनँ, तर अब प्यानल नै हुने भयो । यो पार्टीका लागि विडम्बना हो । सकभर सहमतिमै अधिवेशन गरौं भनेको सकिएन,’ उनले भने ।

आफूलाई पूर्वमहामन्त्री सिंहले पनि समर्थन गरेको दाबी उनको थियो ।

‘उहाँले मलाई समर्थन गर्नुहुन्छ । केन्द्रीय सभापति उठ्ने भनेको नेताले तल्लो तहमा हुने अधिवेशनमा धेरै चासो लिनुहुन्न होला । उहाँको समर्थनमा अर्को प्यानल बनेको भन्ने छ,’ उनले भने ।

काठमाडौंमा हुने कांग्रेसको निर्वाचनमा पहिलेदेखि नै सिंह भर्सेस अरू नेता हुने गर्दथे। यसपालि प्रकाशमान र गगन एकैठाउँमा आइपुगे भने उनीहरूविरूद्ध अरू नेता एकजुट छन् ।

‘पहिलेदेखि नै काठमाडौंमा प्रकाशमान भर्सेस अरू नेता हुने गर्दथ्यो । यसपालि प्रकाशमानलाई साथ दिन गगन आइपुगे,’ सिंहनिकट एक नेता भन्छन् ।

थापाको क्षेत्रका पुरूषोत्तम खकुरेल महानगरको सचिव पदमा उठ्ने तयारीमा छन् । भीमसेनदास प्रधानलाई छाडेर खकुरेल थापानिकट भएका हुन् ।

साथै शाक्य प्यानलबाटै सुशन वैद्य पनि सचिवमा उठ्दैछन् । वैद्य पनि लामो समयदेखि गगननिकट छन् । यसपालि महानगरमा सचिव दुई पदमा निर्वाचन हुँदैछ ।

‘महानगर सभापतिमा सिंहनिकट नीलकाजी र दुबै सचिव गगननिकट खकुरेल र वैद्यलाई समेटेर प्यानल बनाइएको छ,’ ती नेताले भने, ‘काठमाडौंमा अब यसैगरी मिलेर अगाडि जाने भन्ने मोटामोटी सहमति सिंह र थापाबीच छ ।’

प्रकाशमान र गगनबीच संसदीय दलको चुनावदेखि नै सहकार्य थियो । संसदीय दलको नेतामा देउवा र सिंह भिडेका थिए । त्यसबेला गगनले सिंहलाई साथ दिए भने भीमसेनदास प्रधानले भने देउवालाई सघाएका थिए ।

सिंहसँग लामो समयदेखि नै सहकार्य रहेको थापा बताउँछन् ।

‘संसदीय दलकै नेता छान्ने चुनावमा मैले प्रकाशमान सिंहसँगै सहकार्य गरेर जाने निधो गरेको हो,’ उनले भने, ‘यसले गर्दा काठमाडौंमा कांग्रेस संगठन निर्माणलाई सहयोग पुग्छ । काठमाडौंको दशवटै निर्वाचन क्षेत्रका साथीहरूसँग तीन वर्षअगाडि नै मैले छलफल गरेर यो बाटो लिनुप¥यो भनेको हो ।’

तीन वर्षदेखि गृहकार्य गरेर सिंहसँग सहकार्य गरेर अगाडि बढ्ने निधोमा पुगेको पनि थापा बताउँछन् ।

सिंहले पार्टीका तल्ला तहमा सर्वसहमतिमा नै नेतृत्व चयन हुनुपर्ने बताएका छन् । पार्टीमा यसपालि धेरै पद रहेकोले सबैलाई ठाउँ दिएर जानुपर्नेमा सिंह रहेको उनीनिकट एक नेताले बताए ।

‘उहाँले उस्तै परे सभापतिमा लड्नुपर्छ, त्यसका लागि सबै समूहलाई तलदेखि नै समेटेर लैजाँदा सहयोग मिल्छ भन्नुभएको छ,’ ती नेताले भने, ‘आफू–आफू किन झगडा गर्ने ? पार्टीभित्र सकेसम्म सहमति गरौं, चुनाव नगरौं भन्ने उहाँको भनाइ छ । पार्टीमा लामो समयदेखि दुःख गरेकाहरूलाई सहयोग गरेर जानुपर्छ भन्ने उहाँको भनाइ छ ।’

अन्यत्रभन्दा काठमाडौंको राजनीति फरक !

शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिकलाई कांग्रेससँग एकीकरण गरे । त्यसपछि भएको १२ औं महाधिवेशनमा देउवानिकट प्रकाशमान सिंह सुशील कोइरालानिकट हुन पुगे ।

त्यसबेला सिंहले राजन केसीलाई जिल्ला सभापति उम्मेदवार बनाएका थिए । तर नरहरि आचार्य, गगन थापालगायत भने त्यसबेला अर्को टिममा उभिए भने भीमसेनदास प्रधानले जिल्ला सभापतिको चुनाव जितेका थिए ।

तर १२ औं महाधिवेशनमा सिंह भने सुशील कोइरालाकै टिमबाट महामन्त्री जितेका थिए । त्यसबेला पनि काठमाडौंको राजनीति भिन्न रह्यो ।

यो क्रम २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि उस्तै रह्यो । सिंहले सबुज बानियाँलाई जिल्ला सभापतिमा चुनाव लडाएका थिए । गगनलगायतले  भने भीमसेनदास प्रधानलाई नै दोहो¥याएर चुनाव लडाएका थिए । त्यसबेला सबुजले चुनाव जिते ।

त्यसबेलासम्म काठमाडौंमा सिटौला गुट भन्ने थिएन । जिल्ला अधिवेशनपछि महाधिवेशन हुँदा गगन सिटौला समूहबाट महामन्त्री पदमा लडेका थिए, भीमसेनदास प्रधान पनि सिटौलासँगै जोडिन पुगे । अहिले भने प्रधान सिटौला र देउवालाई एकै ठाउँमा उभ्याउन भूमिका खेलिरहेका छन् ।

Post a Comment

0 Comments