२०७८ असोज २ गते
लावण्य/साँखु । देश सञ्चार डटकमले आजको अनलाईनमा उल्लेख गरेको छ- स्वस्थानी मातालाई पसिना आएको छ। शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए।
उनका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको बताए। ढुंगानाले भने ‘म नित्य पूजाका लागि मन्दिरमा पुग्दा पसिना आइरहेको रहेछ। मैंले कपडाले पुछेँ पनि फेरि आयो। मूर्तिको अनुहारबाट बगेको पसिना घाँटीसम्म आयो।’
उनका अनुसार स्वस्थानी मातालाई पसिना आएको यो दोस्रोपटक हो। एक महिनाअघि पहिलोपटक पसिना आए पनि अहिले जस्तो नभइ सामान्य रहेको उनले बताए।
‘एक महिनाअघि पनि पसिना आएको थियो। तर त्यसबेला अहिले जस्तो थिएन। यसपटक बग्ने गरी निक्कै बेर आयो। पूजा गरेपछि रोकियो। त्यसपछि म हिडेँ।’ स्वस्थानीलाई पसिना आएको हल्ला चलेपछि हेर्नेको भीड नै लागेको थियो।
साँखुका स्थानीय बासिन्दा रामकृष्ण लामिछानेले हल्ला चलेपछि आफू पनि हेर्न गएको र जाँदा खलखली पसिना आएको देखेको दाबी गरे। उनले भने, ‘पसिना आयो भन्ने हल्ला चलेपछि म पनि दौडिँदै पुगेँ। जाँदा खलखली पसिना आइरहेको थियो। स्वस्थानीलाई पसिना आएको मैंले पहिलोपटक सुनेको र देखेको हो।’
साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यसरी स्वस्थानीलाई पसिना आएको यो पहिलो घटना भएको देश सञ्चारसँग बताए। ‘स्वस्थानीलाई पसिना आएको कुरा हामीले देखेको र धार्मिक ग्रन्थमा लेखेको पाएका छैनौँ। यसपटक आयो। यसको सकारात्क वा नकारात्मक प्रभाव अब देखिएला,’ श्रेष्ठले भने।
दोलखा भीमसेन, नाला भगवतीलाई बेला बेलामा पसिना आउने र त्यसपछि देशलाई नै अनिष्ट हुने किम्बदन्ती छ। प्रत्येक वर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सम्म माघ मेला लाग्ने गर्दछ ।


0 Comments
Thanks for your concerns