खानेपानीमा ध्यान देऊ



खानेपानीको व्यवस्थापनमा ध्यान दिन नसक्दा गत शुक्रबार दाङको शान्तिनगर गाउँपालिकाको ८ सय ५१ घरधुरीका करिब ४ सय भन्दा बढी व्यक्ति एकै दिन झाडापखालाबाट थलिए ।

एकै दिन ४ सय भन्दा बढी झाडापखालाका विरामी आएपछि त्यहाँ रहेको स्वास्थ्य चौकीले भीडलाई थेग्न सकेन र स्वास्थ्य चौकीले वरिपरि रहेका ४ वटा स्वास्थ्य चौकीको सहायता एवं जिल्ला जनस्वास्थ्य संस्थाको टोली नै त्यहाँ पुगेर उपचाररत रहेका छन् । साथै कपितय विरामीहरुलाई तुल्सीपुर रिफर गरिएको छ ।

यसरी विरामी हुनुको प्रमुख कारण भने त्यहाँ रहेको माईलीपानी खानेपानीको मुहानको पानी अपुग भएको कारण नजिकै रहेको अर्को मुहान सिमलगैराको पानी शुद्धिकरण समेत नगरी सिधै ट्यांकीमा मिसाएर उपभोक्तालाई वितरण गरिएको कारण सो पानी दूषित भएको रहेछ । त्यसमाथि वर्षायाममा आएको भल समेत खानेपानीको मुहानमा पस्दा सो दूर्घटना भएको खानेपानी उपभोक्ता समितिका माधव बस्याले जानकारी दिएका थिए ।

यसरी खानेपानी पिउन योग्य हो वा होईन जाँच बुझ नगरी सिधै धारामा पानी पठाउने र पानीको व्यवस्थापन गर्नको लागि आवश्यक कर्मचारीको खटनपटनमा कमी गर्ने उपभोक्ता समितिलाई सरकारले तत्काल कारवाहीको दायरामा ल्याउनु जरुरी छ ।

कुनै पनि मुहानको पानी आम जनतालाई वितरण गर्नु अघि सो पानी पिउन योग्य हो वा होईन परीक्षण गर्नु जरुरी छ साथै सो पानीको वितरण प्रणाली समेत व्यवस्थित र सुरक्षित हुनु समेत जरुरी छ ।

पानी जीवन हो । तर दूषित पानीले भने ज्यान समेत जान सक्ने हुँदा पानीको उपभोगमा उपभोक्ताले समेत ध्यान दिनु जरुरी रहेको छ । वर्षायाममा धाराको पानी फोहोर भएमा पानीलाई शुद्धिकरण गरि वा उमालेर मात्रै पिउने बानी बसाल्नु जरुरी छ । यसको लागि आम उपभोक्ताहरुलाई पनि सचेत गर्नु जरुरी रहेको छ भने केयुकेएल, नेपाल खानेपानी संस्थान, विभिन्न खानेपानी उपभोक्ता समितिहरुलाई समेत उचित तालिम दिई खानेपानीको वितरण एवं व्यवस्थापनमा ध्यान दिनु सरकारको कर्तव्य हुन आउँछ ।

खानेपानीको वितरण एवं व्यवस्थापनमा लापरवाही गर्ने जो कोही व्यक्ति, संघ, संस्था वा समिति भएपनि तत्काल कानुनी कार्वाही गरिएमा मात्रै यस्ता समस्यामा कमी हुनेमा दुईमत नहोला !

लावण्य सन्देश वर्ष ७ अंक ४९ को सम्पादकीयबाट

Post a Comment

0 Comments