भग्नावशेषकाबीच साँखुमा गथांमुगः

साँखु÷मुलुकभर नेवार बाहुल्यता भएका ठाउँहरुमा जस्तै साँखुमापनि गठेमंगल पर्व भव्यताका साथ मनाइएको छ । गठेमंगल पर्व विशेष गरि नेवार किसानहरुले मनाउने पर्व हो । यस पर्वमा किसानहरुले सिन्हाज्या ब्यंकेगु अर्थात् यस दिनदेखि धान रोप्ने रोपाइँको काम सकिएको प्रतिकको रुपमा यस दिनलाई लिईने गरिन्छ । यस दिन भूत पे्रत पिशाच मन्छाउने हुनाले स–साना बाल–बच्चाहरुलाई समेत साँखुको पुखुलाछी पोखरीमा नुहाइदिने प्रचलन रहेको छ । यस पोखरीमा बच्चाहरुलाई नुहाईदिँदा रुञ्चेरोग निको हुने (अरिं चाईगु), डराउने रोग निको हुने (सातु वनिगु), लुतो रोगबाट निको हुने (चिलाउने रोग), छोप्न आउने रोग र आँखा लाग्ने रोग (मिखा वनिगु) जस्ता रोगहरु निको हुने जनविश्वास रहेको छ । साँखुको आठवटै टोलहरुमा र चोकचोकमा गठेमंगलको प्रतिक बनाई भूत भगाउने काम गरिएको थियो । गठेमंगलको प्रतिकलाई स्थानीयले भूःद्यः भन्ने चलन रहेको छ । भूःद्यःलाई ढोका बाहिरसम्म डोरीले बाँधेर लगि फ्याँकिसकेपछि पुनः पुखुलाछी पोखरीमा गएर नुहाउने चलन रहेको स्थानीय इतिहासकार प्रकाशमान श्रेष्ठ बताउनुहुन्छ । गठेमंगल पर्व कहिलेदेखि मनाइयो भन्ने बारे एकिन इतिहास नभेट्टाएपनि यो पर्व धेरै वर्ष अगाडिदेखि मनाइँदै आएको पर्व हो ।

Post a Comment

0 Comments